arrow

महावीर पुनको आत्मकथा दुई लाख बढी प्रति बिक्री, १२ करोड संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
mahabir-pun-book.jpg

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक २ लाख १८ हजार प्रति बिक्री भएको छ। यसबाट राष्ट्रिय आविष्कार केन्द्रको खातामा १२ करोड रुपैयाँ जम्मा भइसकेको डा. पुनले जानकारी दिएका छन्। उनको पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ।

पुस्तक बिक्रीबाट संकलित उक्त रकम वीरगञ्ज औजार कारखाना र आविष्कार केन्द्रले सञ्चालन गर्दै आएका विभिन्न आविष्कार गतिविधिमा खर्च गरिने डा. पुनले बताएका छन्। पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका डा. पुनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ।

विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक खरिद गरेको छ। नगरउपप्रमुख पवित्रा महतरा प्रसाईंले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उनको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताएकी छन्।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उनको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताए।

विर्तामोड, दमक, बाह्रदशी, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ।

विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा. पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरेका छन्। "देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ," उनले भने, "सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन।"

 

उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए। यी उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने विश्वास पनि उनले व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ