एसलाई वामदेवको चेतावनी - काम नदिए पार्टीमा बस्न सक्दिन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
623
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले कामको जिम्मेवारी नदिएमा आफू लामो समयसम्म पार्टीमा बस्न नसक्ने बताएका छन्।
बुधबार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई पदभन्दा पनि कामको आवश्यकता रहेकोमा जोड दिए।
गौतमले आफूलाई कुनै पद नचाहिएको स्पष्ट पार्दै, “मलाई काम दिनुस्। काम दिनका लागि तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको पद सिर्जना गरिदिनुस्। कामबिनाको पद चाहिँदैन, कुनै पनि हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिनँ,” भने। उनले काम गर्ने क्षेत्र तोकेर जिम्मेवारी दिन आग्रह गरे।
उनले थप भने, "यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ। मलाई काम गर्ने क्षेत्र चाहियो। एउटा जिल्ला, दुईवटा जिल्ला वा एउटा पालिका जहाँ जनवर्गीय सङ्गठन, सामाजिक सङ्गठन, विभागका संरचनाहरू छन्, त्यहाँको जिम्मेवारी पाएर काम गर्नुपर्छ।"
वरिष्ठ नेता गौतमले नेपालको संविधानमा लेखिएको समाजवाद निर्माण गरेर संसारकै सबैभन्दा विकसित समाजमा पुर्याउनुपर्ने धारणा पनि व्यक्त गरे।