यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्र असफल भएको समाजवादी मोर्चाको निष्कर्ष
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
431
Shares
काठमाडौं। समाजवादी मोर्चा, नेपालको मंगलबार आलोकनगरमा बसेको बैठकले यथास्थितिवादी र प्रतिगमनकारी षड्यन्त्रहरूलाई असफल बनाउन मोर्चा सफल भएको निष्कर्ष निकालेको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई यसबारे जानकारी दिएका हुन्।
विश्वकर्माका अनुसार, समग्रमा मोर्चा सफल भए पनि जनता र पार्टी कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखिएको मोर्चाको निष्कर्ष छ। उनले दलका नेताहरूको समय व्यवस्थापनका कारण मोर्चाले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै आगामी दिनमा यी कमजोरीहरू सुधार्ने विषयमा पनि छलफल भएको बताए।
विश्वकर्माले भने, "यथास्थितिवादी या प्रतिगमनकारी षड्यन्त्रहरूलाई समाजवादी मोर्चाले असफल बनायो भन्दा पनि हुन्छ। अहिले त्यसलाई रक्षात्मक स्थितिमा पुर्याएको छ। यो यसको सकारात्मक पक्ष हो। त्यसकारण मोर्चा यो बीचमा मुलभुत रूपमा सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ।"
उनले थपे, "जहाँसम्म यसका केही समस्याहरू रहेका छन्। मोर्चाले जुन ढंगले गति लिनुपथ्र्यो। जनता र मोर्चामा रहेका कार्यकर्ताको जुन अपेक्षा तथा नेपालको राजनीतिका इमानदार नेता र कार्यकर्ताको अपेक्षा जुन थियो। त्यो ढंगले अगाडि बढ्ने कुरामा केही समस्याहरू रहे। त्यसका कारण पछिल्ला दिनहरूमा केही प्रश्नहरू छन् भन्ने निष्कर्षमा हामी पुगेका छौँ। हाम्रा विगतमा भएका कमजोरीहरूलाई सच्याउनुपर्छ भन्ने हाम्रो आजको बैठकको निष्कर्ष हो।"
वर्तमान व्यवस्थाको सुदृढीकरणतर्फ लैजान मोर्चालाई अझ प्रभावकारी बनाएर अगाडि बढ्ने सहमति भएको पनि विश्वकर्माले बताए।