arrow

राप्रपा अध्यक्षमा लोहनी आउँदै

logo
प्रकाशित २०७३ माघ ११ मंगलबार
dr-lohani-naya-php.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि मंगलबारबाट सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब ६–६ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाको पनि ६ महिनाको अवधि पूरा भएको छ ।

सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद मंगलबारबाटै सकिएको हो । तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता लोहनीले गर्ने सहमति भएको प्रेस सहयोगी जनक पाठकले जानकारी दिए ।

दुवै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो । नयाँ अध्यक्षका लागि पार्टी वरिष्ठ नेता लोहनीले राष्ट्रिय पदको जिम्मेवारी मंगलबार देखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबस्ने भएको छ ।

गत मङ्सिर ६ गते दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने भएको छ । सोका लागि आवश्यक तयारीका कार्य जारी छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष लोहनीले करिब एक महिना मात्र पार्टीको नेतृत्व लिनेछन् । लोहनीले वुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्नुहुनेछ ।

महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ ।

महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ । सोही प्रयोजनका लागि प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अतिथि स्वागत तथा व्यवस्थापनलगायत १२ उपसमिति गठन भएका छन् ।

पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधारण सदस्य वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया सुरु भइसकेको छ । आगामी फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ