रोल्पाबाट हराएका अधिकांश महिला बालबालिका काठमाडाैंका ईटाभट्टामा
कविता उपाध्याय,
प्रकाशित २०७३ माघ ११ मंगलबार
782
Shares
रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ ५ रोल्पाकी १३ वर्षिया मीना बुढाथोकी २०७३ पुस ५ गतेबाट हराइन् । उनी हराएपछि कहाँ छिन्, र कोसँग गइन् भन्ने बारेमा परिवारलाई कुनै जानकारी भएन ।
चारैतिर उनको खोजी भयो कही कतै फेला नपरेपछि पुस १२ गते अभिभावक मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोज तलासका लागि उनको हुलिया सहित निवेदन पर्यो । निवेदन परिसकेपछि प्रहरीमार्फत उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी मिनु आलेले जानकारी दिइन् ।
यस्तै मिझिङ ८ रोल्पाका ११ वर्षीय वालक शेरे महरा २०७३ मसिंर ९ गतेदेखि घरबाट एक्कासी हराइ रहेका छन् । विहानसम्म घरमा रहेको छोरो साँझसम्म पनि घर नफर्किएपछि गाउँघर, टोल छिमेक चारैतिर उनको खोजी भयो ।
तर, उनी कही कतै भेटिएन् । यसरी ११ वर्षीय बालक कहाँ हरायो भन्नेबारे परिवारले अत्तोपत्तो पाउन नसकेपछि खोज तलासका लागि २०७३ मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन पर्यो। निवेदन अनुरुप प्रहरीले उनको खोजी कार्य जारी रहेको जनाएको छ ।
बडाचौर ४ रोल्पाकी २१ वर्षीया पार्वती थापा पनि २०७३ पौस २८ गतेदेखि घरबाट निस्किइन् । उनलाई घरपरिवारले गाउँ, घर, इष्टमित्र तथा माइती मावलीसम्म सबैतिर खोज्यो । अत्तोपत्तो नभएपछि खोजीको अनुरोध गर्दै २०७३ पुस २१ गते प्रहरीमा निवेदन पर्यो । उनको पनि प्रहरीले अहिले खोजी जारी राखेको छ ।
प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार खोज तलासका लागि देशका ७५ वटै जिल्लामा हराएका व्यक्तिको हुलिया सहित जानकारी पठाइसकिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्याङ्क अनुसार यो वर्षमा मात्र जिल्लाबाट करिव ४१ जना हराएका छन् ।
जसमा १८ महिला, १० बालक र १३ जना बालिका छन् । विशेष गरी ११ देखि १६ वर्ष उमेर समूहका बालबालिका तथा ५० वर्ष उमेर समूहका महिलाहरु हराउने गरेको तथ्याङ्कमा उल्लेख छ । हराएका मध्ये ११ जना फेला परिसकेका छन् भने अन्य ३० जनाको अवस्थाबारे प्रहरीलाई थप जानकारी छैन । पोहोर २०७२–०७३ मा जिल्लाबाट कूल ८५ जना हराएका थिए । ती मध्ये ३६ जना महिला, ३१ जना बालिका तथा १८ जना बालक रहेको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
आफूले रोल्पामा काम गर्दाको करिव ५ महिनाको अनुभव सुनाउदै प्रहरी जवान आलेले भनिन्, ‘हराएका मध्ये अधिकांश महिला तथा बालबालिकाहरु काठमाडौँका विभिन्न ईटाभट्टामा पुग्ने गरेका छन् । २०७३ पुस ७ गते काडमाडाैँका ईटाभट्टा जाँदै गरेका २ महिला १ पुरुष र अन्य ३१ जना बालकालिका गरी ३५ जनालाई लिबाङको सदरमुकामस्थित टुडिखेलबाट प्रहरीले फर्काएको थियो ।
प्रहरी जवान आलेका अनुसार यसरी हराएका व्यक्तिका अभिभावकहरुले खोज तलासका लागि प्रहरीमा निवेदन दिने तर फेला परिसकेपछि पनि जानकारी नदिने भएको हुँदा यकिन तथ्याङ्कक उपलब्ध गराउन नसकिएको हो ।