arrow

बन्चरे डाँडादेखि स्मार्ट सिटीसम्म: उपत्यकाको फोहर व्यवस्थापनको यात्रा

logo
डा सुरजराज काफ्ले,
प्रकाशित २०८२ साउन १९ सोमबार
surajraj-kafle-82-4-19.jpg

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन संकट नेपालको सहरी विकास र पर्यावरणीय दिगोपनका लागि गम्भीर चुनौती हो। दैनिक १२००-२००० मेट्रिक टन ठोस फोहर उत्पादन हुने यो उपत्यकामा अधिकांश फोहर बन्चरे डाँडाको खुला ल्यान्डफिलमा थुपार्ने गरिएको छ। जुन अवैज्ञानिक र अब्यवस्थित प्रणाली हो । 

यो अव्यवस्थाले माटो, पानी र वायु प्रदूषणलाई मलजल गरिरहेको छ । साथै स्थानीय समुदाय र बटुवाहरुको स्वास्थ्यमा, स्थानीय पर्यटकीय होटल ब्यवसाय लगायतका आर्थिक प्रणालीहरुमा गहिरो असर पारिरहेको छ। यद्यपि स्मार्ट प्रविधि, सामुदायिक सहभागिता, नीतिगत सुधार र विश्वका उत्कृष्ट अभ्यासहरूको अनुकरण मार्फत यो संकटलाई आर्थिक र पर्यावरणीय अवसरमा बदल्न नसकिने भने होइन । 

काठमाडौँको फोहर व्यवस्थापनको हालको अवस्था दयनीय छ । दैनिक १,६०० टन फोहरमध्ये करिब ७०० टन बन्चरे डाँडामा ३०० भन्दा बढी गाडीले ढुवानी गर्छन्। यो ल्यान्डफिलमा मिथेन ग्यास नियन्त्रण, उपयुक्त तवरले लिचेट व्यवस्थापन वा कभरिङ जस्ता आधारभूत सुविधाहरू छैनन् । 

मिथेन, कार्बन डाइअक्साइडभन्दा २५ गुणा शक्तिशाली हरितगृह ग्यास हो । जुन अनियन्त्रित रूपमा उत्सर्जन भइरहँदा जलवायु परिवर्तनलाई तीव्र असर पारिरहेको हुन्छ। लिचेटले जमिनमुनिको पानी र माटो प्रदूषित गर्छ । जसले पिउने पानी र कृषिमा दीर्घकालीन रुपमा असर पार्छ। यसलाई  खुला रूपमा छोडी दिँदा  विषाक्तयुक्त धुवाँ उत्पादन हुन गई  दम, छालासम्बन्धी रोग र अन्य स्वास्थ्य समस्याहरू निम्तिन पुग्छ ।

 बन्चरे डाँडा छिट्टै भरिँदै छ र यदि यही अवस्था कायम रहे केही वर्षमै यो साइट पूर्ण रूपमा बन्द हुनेछ । जसले फोहर थुप्रिएर जनस्वास्थ्यमा संकट निम्तिन जाने भविष्यवाणी गर्न सकिन्छ ।

यो समस्याको मूल कारण स्रोतमा वर्गीकरणको अभाव हो । काठमाडौँको ५०–६० प्रतिशत फोहर जैविक छ । जुन बायोग्यास वा कम्पोस्टमा परिणत गर्न सकिन्छ । बाँकी प्लास्टिक, कागज र धातु पुनह प्रयोगयोग्य छन्, जुन बिना वर्गीकरण बन्चरेस्थित ल्यान्डफिलमा पुगिरहेका छन् ।
 
विगत केही वर्षदेखि काठमाडौँ महानगरपालिकाले केही वडामा रंगीन डस्टबिन दिएर कुहिने र नकुहिने फोहर भिन्दा-भिन्दै डस्टबिनमा राख्न लगाउने प्रयास गरिरहेको छ । यद्यपि यी र यस्ता प्रयासहरू प्रभावकारी हुन सकिराखेका छैनन् । बासिन्दाहरूमा फोहरलाई व्यक्तिगत जिम्मेवारी ठान्ने बानी छैन र सार्वजनिक समस्याको मानसिकताले व्यवस्थापनलाई जटिल बनाएको छ। 

अपर्याप्त पूर्वाधार, कमजोर नीति कार्यान्वयन र स्थानीयहरुको बारम्बारको अबरोध र विरोधले पनि संकट गहिरिएको हो । स्वभाविक कुरा यो पनि हो कि बन्चरे डाँडाका बासिन्दाहरूले स्वास्थ्य र वातावरणीय समस्याका कारण फोहर ढुवानीमा अवरोध गर्छन् । जसले उपत्यकामा फोहर थुप्रिन्छ।

बन्चरे डाँडाबाट स्मार्ट सिटी सम्मको यात्रा तय गर्न पक्कै विश्वका विभिन्न शहरहरूले फोहरलाई मोहरमा बदलेका उदाहरणहरू अध्ययन गर्दै उपत्यकाका लागि उपयुक्त विकल्प दिनु जरुरी हुन्छ नै ।

जापानको कामिकात्सु नगरले फोहरलाई ४५ प्रकारमा वर्गीकरण गरेर ८० प्रतिशत फोहरलाई पुनः प्रयोग गरिरहेको छ। यो सफलताको मूल आधार सामुदायिक अनुशासन, स्पष्ट नीति र स्कूल-स्तरको शिक्षा हो। प्रत्येक घरधुरीले फोहर धुने, सुकाउने र वर्गीकरण गर्ने जिम्मेवारी लिन्छ। काठमाडौँ उपत्यकामा यस्तो प्रणाली लागू गर्न सामुदायिक जागरूकता र स्कूलको पाठ्यक्रममा फोहर व्यवस्थापनको शिक्षा अनिवार्य आवश्यक छ। 

तर सांस्कृतिक र सामाजिक सन्दर्भमा यस्तो बानी बसाल्न समय लाग्छ । जस्ले गर्दा  यहाँ फोहरलाई व्यक्तिगतभन्दा सार्वजनिक समस्याको रूपमा हेरिने गरिन्छ। फोहर छुनु इज्जत जानु हो भन्ने मानसिकता, ठूलो जात-सानो जात, धनी-गरिब यावत् सांस्कृतिक मानसिकताले पनि समस्या उल्ट्याउन सकस परिरहेको छ ।

अर्कातिर स्वीडेनको फोहरबाट-ऊर्जा निकाल्ने  प्रणाली पनि कम सान्दर्भिक छैन । स्वीडेनले ९९ प्रतिशत फोहर प्रशोधन गर्छ, जसमध्ये ५० प्रतिशतबाट ऊर्जा उत्पादन हुन्छ । जसले २५ लाख घरलाई ताप र बिजुली पुर्‍याउँछ । यता काठमाडौँ उपत्यकाको जैविक फोहरलाई बायोग्यास र गैर-पुनः प्रयोगयोग्य फोहरलाई बालेर ताप उत्पादन गर्न सकिन्छ । 

१ टन जैविक फोहरबाट १००–१५० क्युबिक मिटर बायोग्यास उत्पादन हुन्छ । जुन खाना पकाउन वा बिजुली बाल्न प्रयोग गर्न सकिन्छ। अर्को तिर फोहरलाई उर्जामा परिणत गर्न  लाग्ने खर्च भने एउटै प्लान्टको लागत (५० करोड–१ अर्ब रुपैयाँ) र बाल्दै गर्दाको क्षण निस्कने कार्बोनिक ग्यासले ठुलो जोखिम निम्त्याउँछ । नेपालमा त  प्राविधिक अनुभव र दक्ष जनशक्तिको अभावले यो प्रणाली बाट झन जोखिम सिर्जना हुन जान्छ । तर, सिंगापुरको स्मार्ट प्रविधिमा आधारित दृष्टिकोण काठमाडौंका लागि उपयोगी हुन सक्छ। सिंगापुरमा सेन्सरयुक्त डस्टबिनले फोहरको मात्रा, फोहर रहेको स्थान,  समयको मापनको  जानकारी पठाउँछ, जसले फोहर संकलन प्रक्रियालाई ३० प्रतिशतसम्म मानव संशाधन, समय र खर्च बचत गरेको छ।

 काठमाडौं लगायतका उपत्यकाका साँघुरा गल्लीहरूमा जी.पी.एसमा आधारित विद्युतीय साना गाडी र स्मार्ट डस्टबिनले इन्धन र समय बचत गर्छ नै। तर, स्मार्ट डस्टबिनको लागत (प्रति इकाइ १ लाख रुपैयाँ) र डेटा व्यवस्थापनको प्राविधिक जटिलताले तत्काल ब्यबस्थापन गरि कार्यान्वयन गर्न त्यति सजिलो भने छैन। हामीले  ठमेल, बौद्ध, घट्टेकुलाे लगायतका स्थानहरुमा पाइलट प्रोजेक्ट शुरू गरेर नेपाली स्टार्टअपहरू लाई कम लागतका सेन्सर विकासमा प्रोत्साहन दिन भने सक्छौँ ।

धेरै स्थानहरुको उदाहरणहरु दिँदै गर्दा हाम्रा लागि उपयुक्त अनुभव भने भारतको इन्दौर र सुरतले अबलम्बन  गरेका अनुभबहरु नै हुन्।  जस्मा समुदायको नेतृत्वको मोडेलमार्फत सफलता हासिल भएको छ । इन्दौरले १००% फोहर वर्गीकरण र संकलन गरेको छ। जसले घर-घरबाट  संकलन, सामुदायिक कम्पोस्टिङ र कवाडीवालालाई फोहर ब्यवस्थापनमा औपचारिकरुपमा संलग्न गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। काठमाडौंमा कवाडीवालालाई तालिम, परिचयपत्र र सामाजिक सुरक्षा दिएर पुनःप्रयोगमा लगाउने र रोजगारी बढाउन सकिन्छ। तर, कवाडीवाला प्रतिको  सामाजिक हेपाई र नगर र महानगरपालिकाको अबैज्ञानिक संकलन प्रणालीले यो प्रक्रियालाई अवरोध गर्छ नै ।

तसर्थ, काठमाडौं उपत्यकाको फोहर  व्यवस्थापनका निम्ति अहिले बिकास भएका कस्ता-कस्ता स्मार्ट प्रबिधिहरुको प्रयोग बाट फोहर लाई आर्थिक उपार्जनको साधन बनाउन सकिन्छ  भन्ने प्रस्नको उत्तर  हाम्रा लागि महत्वपूर्ण छ।

त्यसका निम्ति माथिनै उल्लेख गरिसकिएको  स्मार्ट बिन प्रणाली जस्तै सेन्सर जडित डस्टबिनले फोहर भरिनुअघि नै सूचना दिने र फोहरको ट्र्याकिङ गर्ने सहज बनाउँछ  । एआईमा आधारित फोहर छुट्याउने मेसिनले प्लास्टिक, कागज, जैविक र अजैविक पदार्थ छुट्याएर पुनःप्रयोग र पुनःउत्पादनको गराउन सहयोग पुर्याउँछ । बायोग्यास प्लान्ट र वेस्ट-टु-एनर्जी प्रविधिले जैविक फोहरबाट ग्यास वा विद्युत उत्पादन गर्न सकिन्छ।  जुन बजारमा बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ। 

यस्तै प्लास्टिक पुनर्चक्रण प्लान्टमार्फत प्लास्टिकबाट निर्माण सामग्री वा इन्धन उत्पादन गर्न सकिन्छ। इन्टरनेट अफ थिङ प्रणालीमार्फत फोहर संकलन, ढुवानी र प्रशोधनको निगरानी गर्दै लागत घटाउन सकिन्छ ।

तस्तै  डिजिटल ट्रेसिङ र ब्लकचेन प्रबिधि मार्फत फोहरको उत्पत्ति, ढुवानी, प्रशोधन र पुनःउत्पादन सम्मको पारदर्शिता कायम गर्न  सकिन्छ। यसले फोहरको व्यवस्थापन चक्रलाई ट्रयाक गर्न, अनियमितता न्यूनीकरण गर्न र कर संकलन प्रणालीलाई सुधार गर्न सहयोग पुर्याउँछ ।

अर्को तरिका भनेको रिसाइकलिङ उद्यमशीलता र ग्रीन स्टार्टअप मार्फत स्मार्ट प्रविधिसँगै फोहरमै आधारित स्टार्टअपहरू जस्तै पुराना कपडा, कागज, प्लास्टिक, धातु, गिलास आदि पुनःप्रयोग गरेर नयाँ उत्पादन बनाउने साना उद्योगहरूको प्रवर्द्धन गर्न सकिन्छ। युवाहरुलाई रोजगारी सृजना गर्ने, वातावरणमैत्री उत्पाद बनाउने र बजारमा प्रतिस्पर्धी बन्ने अवसरसमेत मिल्छ।

यस्तैगरी नागरिक सहभागिता र डिजिटल एप मार्फत सार्वजनिक सहकार्य बाट मोबाइल एप्लिकेसनको प्रयोग गरी नागरिकलाई फोहर छुट्याउने, कम्पोस्ट गर्नेबतथा रिसाइकल योग्य फोहर बिक्री गर्न प्रोत्साहन दिने अभ्यास गर्न सकिन्छ। जस्तै, क्लिन सिटी एप  जस्तो डिजिटल प्लेटफर्म‌ मार्फत प्रयोगकर्ताले फोहर संकलन सेवा प्राप्त गर्न सक्छ।

फोहर व्यवस्थापनमा स्मार्ट प्रविधिको उपयोगले काठमाडौं उपत्यकालाई केवल सफा र स्वस्थ बनाउने मात्र होइन, आर्थिक रूपमै सशक्त बनाउन पनि मद्दत गर्न सक्छ। सरकार, निजी क्षेत्र, नागरिक समाज र प्रविधि विशेषज्ञबीच सहकार्य भयो भने फोहरलाई समस्या होइन, सम्भावना र स्रोतका रूपमा उपयोग गर्न सकिनेछ।

सजिलो भाषामा भन्नु पर्दा, काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा सामाजिक, आर्थिक, प्राविधिक र नीतिगत समस्याहरू छन् । सामाजिक रूपमा, फोहर वर्गीकरणको संस्कृति कमजोर छ। बासिन्दाहरू फोहरलाई व्यक्तिगत जिम्मेवारी ठान्दैनन्। 

सामुदायिक रेडियो, सामाजिक सञ्जाल र स्कूल शिक्षा मार्फत जागरूकता अभियान चलाउनुपर्यो। आर्थिक रूपमा, फोहर लाई उर्जामा परिणत गर्न  र स्मार्ट प्रविधिको उच्च लागतले ठूलो लगानीको आवश्यकता देखाउँछ। सार्वजनिक-निजी साझेदारी र विश्व बैंक वा एडीबी लगायतका दात्रि निकायहरु, महानगर,नगर, नेपाल सरकार, प्रदेश सरकारको सहयोगबाट यो कमी पूर्ति गर्न सकिन्छ । 

प्राविधिक रूपमा दक्ष जनशक्तिको सीमितता लाई परिपूर्ति गर्न स्थानीय युवालाई तालिम र स्टार्टअपहरूलाई प्रविधि विकासमा प्रोत्साहन दिनुपर्छ। नीतिगत रूपमा, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव र महानगरपालिकाको विभिन्न तह र तप्काका  नेतृत्वहरुले कार्यान्वयनमा अत्यन्तै मेहनत र लगनका साथ कार्य गर्ने हो भने उपत्यकाको फोहर व्यवस्थापनलाई सहज रुपमा अवतरण गर्न सकिन्छ ।

सबै कुराहरु लाई समेटेर गर्नु पर्ने भनेको बन्चरे डाँडाको खुला ल्यान्डफिल लाई  वैज्ञानिक ल्यान्डफिल डिजाइन, जस्तै मिथेन फ्लेयर र लिचेट व्यवस्थापन, लागू गर्नुपर्छ। फोहर बाट उर्जा निकाल्ने  प्लान्टमा कडा उत्सर्जन नियन्त्रण र नियमित वाताबरणीय स्वास्थ्य अनुगमन गर्नु जरुरी छ ।

फोहर लाई  स्रोतमै वर्गीकरण अनिवार्य गर्न हरेक घरमा तीन रङका डस्टबिन वितरण र जरिवाना/पुरस्कार प्रणाली लागू गर्नुपर्छ। वडा-स्तरमा कम्पोस्टिङ, बायोग्यास र सामग्री पुनह प्राप्ति केन्द्र स्थापना गरेर ल्यान्डफिलको दबाब कम गर्नुपर्छ।  स्मार्ट डस्टबिन र जीपीएसमा आधारित संकलनको पाइलट प्रोजेक्ट शुरू गर्नुपर्छ। 

कवाडीवालालाई औपचारिक बनाएर र महिला समूहलाई कम्पोस्टिङमा संलग्न गराएर रोजगारी सिर्जना गर्नुपर्छ। फोहर उत्पादन गर्ने उद्योगबाट कर उठाएर व्यवस्थापन कोष बनाउनुपर्छ।

काठमाडौँको फोहर संकट समाधान गर्न वैज्ञानिक दृष्टिकोण, सामुदायिक सहभागिता र नीतिगत सुधारको संयोजन आवश्यक छ। विश्वका उदाहरणहरूले फोहरलाई मोहोरमा बदल्न सम्भव छ भन्ने देखाएका छन् ।

स्रोतमा वर्गीकरण, विकेन्द्रीकृत प्रशोधन र स्मार्ट प्रविधिको प्रयोगले काठमाडौँलाई २०३० सम्म शून्य ल्यान्डफिलको लक्ष्यतर्फ डोर्‍याउन सक्छ तर सांस्कृतिक बाधा, आर्थिक सीमा, र संस्थागत कमजोरीले चुनौती थप्छन्। जागरूकता अभियान, अन्तर्राष्ट्रिय सहायता र बलियो संस्थागत संरचनामार्फत यी चुनौतीहरू पार गर्न सकिन्छ। यी प्रयास सफल भएमा, काठमाडौं सफा, हरियाली, र आर्थिक रूपमा समृद्ध सहर बन्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ