arrow

सिंहदरबारमा कोदोका परिकारको प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
kodo-shingadarbar.jpg

काठमाडौँ। नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवस को सन्दर्भमा सिंहदरबारमा कोदोका विभिन्न परिकारहरूको प्रदर्शनी आयोजना गरेको छ। सोमबार सिंहदरबारको केन्द्रीय क्यान्टिनमा आयोजित 'भोजनलिपि स्वाद'को पाँचौँ संस्करणमा कोदोबाट बनेका ढिँडो, सेलरोटी, खीर, ममः, मालपुवा, कुकिजलगायत १० वटा परिकार प्रस्तुत गरिएका थिए।

प्रदर्शनीमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदोको परिकारको स्वाद लिँदै यसको महत्त्वमा जोड दिए। उनले कोदो उत्पादन बढाउनका लागि सरकारले किसानलाई प्रोत्साहनमूलक योजनाहरू ल्याउने बताए। मन्त्री खड्काले कोदोलाई परिकार मात्र नभई संस्कृति, पहिचान र सम्भावनाको अन्नको रूपमा लिनुपर्ने बताए।

उनले कोदोखेतीको उत्पादन प्रक्रियालाई आधुनिक उपकरणको प्रयोगबाट सहज बनाएर किसानहरूलाई आकर्षित गर्न सकिने धारणा राखे।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले विगतमा हेपिएको खाना भए पनि अहिले कोदो स्वास्थ्यवर्द्धक भएकोले सहरमा लोकप्रिय बनिरहेको बताए। उनले यसको उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्न जरुरी रहेको बताए।

कार्यक्रमका संयोजक देवीप्रसाद सापकोटा र सेफ घनश्याम कँडेलले लोप हुँदै गइरहेको कोदोको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। सरकारले यस वर्षदेखि भदौ १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन सुरु गरेसँगै यस्ता अभियानहरूले थप महत्त्व पाएका छन्।

नेपाली खाना प्रवर्द्धन अभियान र भोजनलिपि स्वादको संयुक्त आयोजनामा भएको यस कार्यक्रमलाई कोदाली भेन्चर्स प्रालि र नवप्रभात डेरीले सहयोग गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ