'ग्रे लिस्ट' बाट बाहिरिन सरकारको सघन प्रयास जारी: अर्थमन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
869
Shares
काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्थाको 'ग्रे लिस्ट' बाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास गरिरहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यसका लागि दर्जनौँ कानुनमा सुधार गरिएको र अन्तर्राष्ट्रिय संस्थाहरूका सुझावहरूलाई कार्यान्वयनमा लगिएको जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार, 'ग्रे लिस्ट' बाट बाहिर निस्कन सरकारले विभिन्न कदमहरू चालेको छ। सम्पत्ति शुद्धीकरण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसँग सम्बन्धित कानुनले १९ वटा विद्यमान ऐनहरूलाई संशोधन गरेको छ।
यसैगरी, सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमावली जारी गर्नुका साथै सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी वित्तीय रणनीति तथा कार्ययोजना २०८१/८२ देखि २०८५/८६ सम्मका लागि लागू गरेको छ।
'ग्रे लिस्ट' बाट बाहिर निस्कनका लागि क्यासिनो, घरजग्गा, र बहुमूल्य धातुको कारोबार गर्ने व्यवसायीहरूलाई पनि विशेष निर्देशनहरू जारी गरी कार्यान्वयनमा ल्याइएको छ।
पौडेलले एसिया प्यासेफिक ग्रुप (एपीजी) बाट प्राप्त रिपोर्टिङ ढाँचालाई पनि प्रतिवेदन गरी कार्यान्वयनमा ल्याइएको बताए। सरकारले यस विषयमा समन्वय र अनुगमनका लागि चारवटा कार्यान्वयन संयन्त्रसमेत गठन गरेको छ।
उनले सरकारको संगठित र सघन प्रयासका कारण नेपाल निर्धारित समयभन्दा अगावै 'ग्रे लिस्ट' बाट बाहिरिनेमा आफू विश्वस्त रहेको बताएका छन्।