arrow

विधायन व्यवस्थापन समिति

कर्मचारीको अभिव्यक्तिपछि जङ्गिए सिटौला - मन्त्रिपरिषद्लाई नियन्त्रण गर्ने तपाईँ को ? [भिडियो]

कर्मचारीतन्त्रले सरकारलाई नियन्त्रण गर्ने कुरा सह्य हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
sitoulass.jpg

काठमाडौँ। आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा अप्रत्याशित दृश्य देखियो, जहाँ नेपाली कांग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला एक कर्मचारीको अभिव्यक्तिमाथि आक्रोशित भए। समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदामाथि छलफल चलिरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शिशिर कोइरालाको जवाफमा सिटौला जङ्गिएका हुन्।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा सहसचिव कोइरालाले नदीनालाको पानी उपयोग गर्नका लागि सरकारले जल तथा ऊर्जा आयोगसँग अनुमति लिनुपर्ने र पानीको साँचो आयोगसँग हुनुपर्ने धारणा राखेका थिए। उनको यो भनाइमाथि आक्रोश व्यक्त गर्दै सांसद सिटौलाले भने, “हामी यहाँ सिँगारपटार गर्न, सारी किन्न खोजेको हो? तपाईँ त मन्त्रिपरिषद्लाई कन्ट्रोल गर्न खोज्दै हुनुहुन्छ। मन्त्रिपरिषद्लाई नियन्त्रण गर्ने तपाईँ को?”

सिटौलाले कर्मचारीतन्त्रले मन्त्रिपरिषद्लाई नियन्त्रण गर्ने कुरा सह्य नहुने चेतावनी दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई आफ्ना कर्मचारीलाई बोल्ने तरिका सिकाएर पठाउन आग्रह गरे।

नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले पनि सहसचिवको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रश्न गरे, “हाम्रो देशको जलस्रोत उहाँले कमाएको तलबजस्तो हो? यो नेपाल सरकारको सम्पत्ति हो। सरकारले चाहेको जसरी प्रयोग गर्न सक्छ। आयोग सरकार मातहतकै भएकाले अनुमति लिइरहन पर्दैन।”

सांसदहरूको आक्रोशपछि मन्त्री खड्काले सहसचिव कोइरालाको भनाइको बचाउ गर्दै सङ्घीयतामा अधिकारको प्रत्यायोजन हुनुपर्ने र केन्द्रीकृत व्यवस्था राम्रो नहुने आशयले त्यस्तो अभिव्यक्ति दिएको बताए। उनले 'सहमति लिने' भन्दा 'सुझाव लिने' शब्द बढी उपयोगी हुने धारणा राखे।

पछिल्लो समय संसदीय समितिहरूमा यस प्रकारका नोकझोक प्रायः देखिन थालेका छन्। समितिमा आउने उच्च तहका कर्मचारीले सांसदहरूलाई घुमाउरो तरिकाले हेप्ने भाषा प्रयोग गर्ने र सांसदहरू पनि विषयमा गहिरो अध्ययन नगरी सतही छलफलमा मात्रै सीमित हुने प्रवृत्तिले यस्ता विवाद निम्त्याउने गरेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ