arrow

सहकारी सह

रुपौलिया सहकारीः बचतकर्ताको अपचलन रकम खोज्न भएन प्रभावकारी अनुसन्धान

पुनः लेखापरीक्षण, फर्जी ऋणी, कम्प्युटरको सफ्टवेयर र करकाब कागजमाथि घुमेन अनुसन्धानको सुई

logo
नारायण वली,
प्रकाशित २०८२ साउन २३ शुक्रबार
rupauliya mahila sahakari 0ffice-nawalparasi-susta pachshim-2.jpg

लुम्बिनी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका वडा न-१ स्थित रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम अपचलन भएको रहस्य बाहिरिएपछि गत गत असार २४ गते व्यवस्थापक र कम्प्युटर अपरेटरलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतामा राखेर अनुसन्धान गर्दै आएको छ । पक्राउ पर्नेमा सहकारीका व्यवस्थापक इन्दिरा उपाध्याय र कम्प्युटर अपरेटर टपनारायण चौधरी रहेका छन् । 

सहकारीमा एक करोड ६० लाख २८ हजार दुई सय ६१ रुपैयाँ अपचलन भएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको हो । प्रहरीले अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गरिरहँदा कहिलेदेखि हिसाब बिग्रिएको हो ? कसले के कति रकम अपचलन गरेका छन् ? कम्प्युटरमा राखिएको हिसाबको विवरण लगायतलाई स्पष्ट पार्न पुनः लेखापरीक्षण गर्नुपर्ने भए पनि नगरेर प्रहरीले यसअघि सहकारी कार्यालयको बन्द कोठामा गरिएको भनिएको ५५ र ४५ प्रतिशतको कागज अनुसार बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने विषयलाई प्राथमिकता दिँदै आएको छ । 

२०५९ सालमा स्थापना भएको सहकारीमा करिब सात सय बचतकर्ताहरु रहेका छन् । २०८०/८१ मा शेयर पुँजी २६ लाख एघार हजार दुई सय रहेको छ भने बचत दुई करोड बाह्र लाख ६७ हजार दुई सय ५५ रुपैयाँ र ऋण लगानी एक करोड ६ लाख ६५ हजार नौ सय चालिस रुपैयाँ रहेको छ । 

२०७४ साउन १ गतेदेखि ०८१ साल असार ३१ गतेसम्म आम्दानी तर्फको छुटेको हिसाबमा बचतमा पैतिस हजार सात सय, ब्याजमा तीन लाख ४२ हजार छब्बीस रुपैयाँ, कर्जा असुलीमा ७१ लाख ५९ हजार सात सय र हर्जनामा ८४ हजार एक सय ७० गरी कूल अठासी लाख ३३ हजार तीन सय छ्यानब्ने रुपैयाँ दुई सय ४६ जना शेयर सदस्यबाट छुटेको भेटिएको छ । 

बाँकी रकम ७१ लाख ९४ हजार आठ सय ६५ रुपैयाँको कुनै अनुसन्धान नभएको सहकारीको अडिट रिपोर्ट प्रतिवेदनले स्पष्ट देखाएको एक सम्बन्धित युवाले बताए । 

यस्तै २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा ऋण लगानी दुई करोड ६७ लाख ४७ हजार छ सय रहेको तर हस्तलिखित खातामा ऋण एक करोड २६ लाख ६५ हजार अठ्चालीस रुपैयाँ देखिन्छ, यसमा फर्जी ऋणी खडा गरी एक करोड चालीस लाख ८१ हजार सात सय साठी रुपैयाँ लगानी गरेको देखिन्छ ।

सोही लेखापरीक्षण प्रतिवेदनमा ०७९/८० को बचत रकम दुई करोड चार लाख ८६ हजार ८२ रुपैयाँ भएको प्राप्त कागजातले देखाउँछ । खातामा भने दुई करोड ११ लाख ६५ हजार तीन सय ८२ रुपैयाँ स्पष्ट देखिन्छ । यसरी हेर्दा लेखापरीक्षण प्रतिवेदनमा भन्दा हस्तलिखित खातामा ६ लाख ७० हजार तीन सय बचत रकम बढी देखिन्छ । 

घुमेन अनुसन्धानको सुइ ?

सञ्चालक समिति, ऋण समिति, ऋण प्रवाह गरिएको पद्धति हेर्दा आव २०७३/०७४ बाट नै हिसाब नमिलेको, आम्दानी तर्फको रकम छुटेको उक्त आम्दानी रकम कहाँ खर्च भएको छ भन्ने विवरण नहेरिएको पाइएको छ ।

२०७३ सालअघि खातामा लेखेर राखिदै आएको हिसाबलाई कम्प्युटर सफ्टवेयरमा राख्ने उद्देश्यले स्थानीय अर्कोमा बन्देही बचत तथा ऋण सहकारी संस्थाको कार्यसमिति हाल विवादितको समयमा अध्यक्षसमेत रहेका टपनारायण चौधरीलाई राखिएको खुलेको छ ।

रजिष्ट्ररमा लेखिएका हिसाब हराउने र खोज्नलाई ढिला हुने भएकाले छिटोछरितो हुने भन्दै नियुक्ति गरिएका कम्प्युटर अपरेटर चौधरीले कम्प्युटरमा हिसाब नराखेको पाइएको छ । 

सहकारीले हरेक वर्ष लेखापरीक्षण गराएर साधारण सभाबाट पारित गर्नुको साथै ऋण समितिले ऋण पारित गरेको तर अहिले ऋणी फर्जी देखिन आएको छ । लेखा समितिले ०७३/७४ देखि नै बैठक बसेर सबै हिसाब जाँच गरी ठीक भएको सहमति जनाउँदै बैठक भत्ता पनि बुझेको लेखा समितिले गरेको निर्णय पुस्तिकामा उल्लेख छ ।

कम्प्युटर अपरेटरले २०७९/८० मा लेखापरीक्षण गराउँदा कृत्रिम ऋणी खडा गरी एक करोड ४० लाख, ८१ हजार सात सय साठ्ठी रुपैयाँ देखाएको र उक्त अडिट रिर्पोट सहकारीको बार्षिक साधारणसभाबाट सर्वसम्मतीले पारित गरेको देखिन्छ । उक्त हिसाब कम्प्युटरबाट चौधरीले सफ्टवेयरमा रहेको डाटा नै गायब गराएको लेखापरीक्षण रिपोर्टमा जनाइएको छ । 

पछिल्लोसमय २०८०/८१ को लेखापरीक्षण सूर्यप्रसाद पौडेल एण्ड कम्पनी भरतपुर महानगरपालिका वडा नं ११ चितवनको नामबाट भएको फेला परेको छ । जुन संस्था रजिष्ट्रर लेखा परिक्षकको संस्था भएको देखिन्छ ।

सहकारीको लेखापरीक्षण चार्टर एकाउण्टेण्ट अनुप अर्याल उपाध्यायले गरेको सुस्ता गाउँपालिका वडा नं १ का वडासदस्य एवं प्रत्यक्षदर्शी गणेश उपाध्यायले बताए ।

उनले लेखापरीक्षण चार्टर एकाउण्टेण्ट उपाध्यायले गरेकोमा लेखापरीक्षण प्रतिवेदन कम्पनीको लेटरप्याडमा नाम कम्पनीको तर हस्ताक्षर अनुपले गर्नु शंकास्पद रहेको बताउँदै प्रहरीले त्यसतर्फ अनुसन्धान नगरेको जनाए । 

लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार (सन्तु) को प्रत्यक्ष चासो 

सहकारीमा बचतकर्ताको रकम अपचलन भएको भन्दै उजुरी लिएर सहकारी दर्ता अधिकारीको कार्यालय दाङ पुगेको सहकारीको अध्यक्ष ममता भारतीसहितको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र-१(ख) का प्रदेश सांसद एवं बहालवाला वन तथा वातारणमन्त्री देवकरणप्रसाद कलवार (सन्तु) लाई मन्त्रालयमा गएर भेट गरेको र सहकारी दर्ता अधिकारीको कार्यालयले २०८२ असार १७ गते सहकारी सञ्चालक, व्यवस्थापक र कम्प्युटर अपरेटरसहित त्रिपक्षीयलाई सोधपुछका लागि बोलाएको बेला सहकारीको कार्यालयमा वनमन्त्री कलवार दिउँसो २ः३३ मा प्रवेश गरी व्यवस्थापक र कम्प्युटर अपरेटरलाई तत्काल पक्राउ गर्नपर्ने निर्देशनात्मक अभिव्यक्ति दिएका थिए । 

पदीय जिम्मेवारीलाई कुल्चेर सहकारी दर्ता अधिकारीको कार्यालयमा वनमन्त्री कलवार त्यहाँ पुगेको तस्बिर सुरक्षित छन् । त्यसयता प्रत्यक्ष अप्रत्यक्षरुपमा निरन्तर चासो राख्दै आएका मन्त्री कलवार ०८२ साउन १७ गते बिहान हिरासतमा रहेका कम्प्युटर अपरेटर टपनारायण चौधरीलाई भेट्न पुगेको रहस्य खुलेको छ । यता मन्त्री कलवारलाई टेलिफोन सम्पर्क गरी यसबिषयमा वास्तविकता बुझ्न खोज्दा आफु बैठकमा भएकोलेपछि कुराकानी गर्नै भन्दै फोन राखे । 

करकाप कागजविरुद्ध अदालतमा मुद्धा 
यसअघि सहकारीको बन्द कोठामा रातीको समयमा आफुहरुलाई एउटा भीडले त्रासपूर्ण वातावरण गराएर व्यवस्थापकले ५५ र कम्प्युटर अपरेटरले ४५ प्रतिशत बेहोर्नुपर्ने गरी गराएको कागजविरुद्ध जेठ ६ गते अपराधिक बल प्रयोग गरी बनाएको कागज बदर गरी पाउँ भनी जिल्ला अदालत परासीमा व्यवस्थापक इन्दिरा उपाध्यायले मुद्धा दायर गरेको र सो मुद्धाको पहिलोचरणको प्रारम्भिक सुनुवाई समेत भइसकेको बताईएको छ । भने, कम्प्युटर अपरेटर चौधरीले पनि सोही बिषयमा मुद्धा हालेको उल्लेख छ । 

यसो भन्छ बेलाटारी प्रहरी 
इलाका प्रहरी कार्यालय बेलाटारीका एक प्रहरी अधिकारीले अनुसन्धानलाई तीव्र पारिएको बताउँदै प्रहरीलाई गहिरो अनुसन्धान गर्नै नपर्ने गरी दुई जनाले प्रतिशतमा बचतकर्ताको अपचलन भएको रकम तिर्छौ भनेर गरिएको कागज भेटिएको र सोही अनुसार रकम तिर्नुपर्ने बताए ।

सहकारीको विषयमा किन प्रदेश वनमन्त्रीको चासो जागेको देखिन्छ ? उहाँ सहकारीको शेयर सदस्य हुनुहुन्छ कि बचतकर्ता ? भन्ने जिज्ञासामा ती प्रहरी अधिकारीले 'उहाँ यस क्षेत्रको सांसद हो, उहाँले चासो जगाउनु स्वभाविकै हो' भनी झर्किदै यसलाई अन्यथा नमान्न भने । उनले थपे, 'मन्त्रीज्यूले छिटो अनुसन्धान गरेर अदालतमा पठाउनुपर्यो भनेर मात्रै भन्नुभएको छ । प्रहरीले अहिले दुवै जनाको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिहेको छ ।' 

जिल्ला सहकारी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अध्यक्ष विष्णु पौडेलले उक्त सहकारीको समस्या जिल्लासम्म नआए पनि समस्या उत्पन्न भएको मितिदेखि हालको सम्मको विस्तृत नयाँ लेखापरीक्षण गर्नु पर्ने तथा सहकारीको विभागीय नियम अनुसार कसले के कति अपचलन गरेको छ भन्ने कुरा खुल्नुपर्ने बताए ।

वडाध्यक्ष अशोक कुमार चौधरी यसो भन्छन्ः
सुस्ता गाउँपालिका वडा न-१ का वडाध्यक्ष अशोककुमार चौधरीले वडा कार्यालय नजिक जोडिएको सहकारी हो । पहिले राम्रोसँग चलेको देखिन्थ्यो । पछि कहाँ हिसाब बिग्रियो । यसको गहन अनुसन्धान हुनुपर्छ । बचतकर्ताको रकमलाई फिर्ता गरिनुपर्छ भन्दै सहकारीमा समस्या आउनुमा सञ्चालक समितिको पनि कमजोरी देखिन्छ । वार्षिक रुपमा लेखापरीक्षण गरिदै आएको छ । के कसरी अपचलन भयो ?

वडाध्यक्ष चौधरीले समितिलाई पटकपटक बैंकका भौचर र ऋण लगानी गरेको खाता हेर्यौ, हिसाब गरौं भन्दा मेरो कुनै सुनुवाई भएन । पछिल्लोसमय सहकारीले साधारणसभा राखेको रहेछ, मलाई कुनै आधिकारीक जानकारी आएको थिएन, उनले भने मैले त बचतकर्ताहरु हिसाब खोज्न आएका होलान् भनेको थिए ।

गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय आउनु भएको रहेछ, पछि मलाई एउटा मिटिङ छ, आउनुपर्यो भनेर बोलाउनु भयो, जाँदा साधारणसभा त्यो पनि ब्यानर बिनाको राखिएको रहेछ । मैले देखेको व्यवस्थापक इन्दिरा जी बिरामी भएपछि कम्प्युटर अपरेटर चौधरीबाट हिसाब बिग्रिएको हो । २० हजार बचत गरेको बचतकर्ताले एक लाख रुपैयाँ बिना धितो ऋण लगेको जस्ता सुनिन्छ । 

सहकारी अध्यक्ष ममता भारती 
सहकारीकी अध्यक्ष ममता भारतीले बचतकर्ताको रकम अपचलन हुनुमा कर्मचारीको हात रहेको दाबी गरिन् । उनले कर्मचारीले ८८ लाख बराबरको रकम छुट भएकोे भन्दै भेट्टाएको र बाँकी रकम हालसम्म पनि नभेटिएको बताइन् ।

अध्यक्ष भारतीले भनिन्, '२०७९/८० तिर सहकारीको हिसाबमा शंका लागेपछि आफु सुस्ता गाउँपालिका गएर सहकारीमा हिसाब नमिलेको बताएपछि गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले हिसाब किताबको खोजी गर्न चितवनबाट लेखापरीक्षक अनुप उपाध्यायलाई बोलाइदिनु भयो, उहाँले लेखापरीक्षण गर्नुभयो । उहाँले गर्दा एक करोड ६० लाख रुपैयाँ अपचलन भएको देखियो, हामीले सहकारी दर्ता अधिकारीको कार्यालय दाङमा जानकारी गरायौँ, सरहरु आउनुभयो, उहाँहरुले थप चार पाँच लाख रुपैयाँ बढी भेटाउनुभयो, हामीले सोध्यौं अब के गर्ने भनेर अब प्रहरीमा उजुरी दिनुस् भनेपछि हामीले लेखापरीक्षणमा निस्किएको अपचलन रकमको आधारमा प्रहरीमा उजुरी दिएका हौँ । अहिले कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान हुँदैछ ।'

के भन्छन् लेखापरीक्षक अनुप अर्याल उपाध्याय ?
सहकारीको पछिल्लो लेखापरीक्षण गरेका अर्याल अनुप एशोसियटका लेखापरीक्षक अनुप अर्याल उपाध्यायले हाम्राकुरासँगको कुराकानीमा आफ्नो अर्याल अनुपबाट लेखापरीक्षण गर्दा र पहिले सूर्यप्रसाद कम्पनीबाट गरेकोभन्दा करिब डेढ लाख रुपैयाँ बढी देखिन आएको छ ।

उनले भने, 'म अहिले बाहिर छु । सबैकुरा लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।' २०७६/७७ देखि ०७८/७९ सम्म तीन वर्ष लेखापरीक्षण गरेका लेखापरीक्षक पञ्चदेव गुप्ताले भने, 'मैले लेखापरीक्षण गर्दा कम्प्युटरमा भएको सफ्टवेयर बिगारेर राखिएको थियो । फर्जी ऋणी देखाएर हिसाब मिलाइएको थियो । मैले बनाएको प्रतिवेदनमा सहकारीका सबै जनाले हस्ताक्षर गरेर पारित गर्नुभएको हो । त्यतिबेला केही देखिएको थिएन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ