arrow

'सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्यशाला'

अबको पाँच वर्षभित्र सबै नागरिकले विपद् पूर्वसूचना पाउने: गृहमन्त्री लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
ramesh-lekhak-22.jpg

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र नेपालका हरेक नागरिकले विपद् पूर्वसूचना प्राप्त गर्ने व्यवस्था गरिने बताएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको 'सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्यशाला' मा सम्बोधन गर्दै उनले यो प्रतिबद्धता जनाएका हुन्।

गृहमन्त्री लेखकका अनुसार, अहिले पनि नेपालको एक तिहाइ जनसङ्ख्या प्राकृतिक र जलवायुजन्य जोखिमको पूर्वसूचनाबाट वञ्चित छ। उनले विपद्पछि खोज, उद्धार र पुनर्निर्माणमा लाग्नुभन्दा पहिले नै पूर्वसूचना दिएर नागरिकको ज्यान जोगाउनु आवश्यक भएको बताए। उनले भने, "२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना पाउने सुनिश्चितता गरिनेछ।"

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले नेपाल बहुप्रकोपको जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले थामे, रसुवा र हुम्लाको तील गाउँजस्ता घटनाबाट पाठ सिकेर हिमाली क्षेत्रमा बढ्दो जोखिमको सूक्ष्म अध्ययन गरी विपद् पूर्वसूचना संयन्त्रको विकास गर्नुपर्ने बताए।

संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डाले पूर्वसूचना प्रणालीको विकास राष्ट्रसङ्घको पनि प्राथमिकतामा रहेको बताइन्। उनले यो कुनै परियोजना नभई संयुक्त रूपमा काम गर्ने नयाँ बाटो भएको उल्लेख गर्दै विपद्बाट हुने क्षति कम गर्न सरकार र सबै निकायहरूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिइन्।

सन् २०२७ सम्ममा विश्वका सबै व्यक्तिलाई बहुप्रकोपमा आधारित पूर्वसूचना प्रणालीद्वारा सुरक्षित गर्ने संयुक्त राष्ट्रसङ्घको लक्ष्य छ। नेपाल पनि यो अवधारणा कार्यान्वयन गर्न छनोट भएका ३० देशमध्ये एक हो। नेपाल सरकार, गृह मन्त्रालयको नेतृत्वमा यसका लागि राष्ट्रिय मार्गचित्र बनाउने काम भइरहेको छ। दुई दिनसम्म चल्ने यो कार्यशालाले नेपालको राष्ट्रिय मार्गचित्र (२०२५-२०३०) तयार गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ