अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
623
Shares
गुल्मी। अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा रोकिएको हो।
डहरे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आएका कारण रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म चल्ने सबै सवारीसाधन रोकिएका छन्। वर्षा नरोकिएकाले सडक खुलाउने प्रयासमा कठिनाइ भएको प्रहरीले जनाएको छ। तीन दिनअघि पनि सोही खोलाले एउटा कार बगाएको थियो।
त्यसैगरी, सुक्खा पहिरोका कारण रिडी–खञ्ज्याङ सडकको साँखर खण्ड पनि अवरुद्ध बनेको छ। वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलाको सतह पनि बढेको छ।
जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, गुल्मीमा २०० भन्दा बढी स्थान बाढी र पहिरोको उच्च जोखिममा छन्।