उद्यमी कृषि सहकारीका अध्यक्ष लोहागुनसँग जग्गा किन्दा ठगिए चौध जना
नारायण वली,
प्रकाशित २०८२ साउन २४ शनिबार
1.3k
Shares
लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा-११ देविनगरस्थित होराइजन चोकनजिक रहेको उद्यमी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दलबहादुर लोहागुनले बर्दघाटको जहदामा जग्गा बिक्री गराउँदा बीस जनाभन्दा धेरैलाई अर्काको खेतीयोग्य जग्गालाई बाटो भनी देखाई झुक्याएर बिक्री गरेको रहस्य फेला परेको छ ।
अध्यक्ष लोहागुनले बर्दघाट नगरपालिका वडा न-११ गैँडहवाका हिरालाल चौधरीको ८ र ११ कठ्ठाका दुई ओटा कित्ता जग्गा प्रतिकठ्ठा तीन लाख रुपैयाँका दरले किनेर स्थानीय नन्दलाल चौधरीको नाममा पास गराएर (ठगी गर्ने योजनाबद्ध उद्देश्य) ले २०७६ मंसिर ८ गतेदेखि २०८० जेठसम्म विभिन्न व्यक्तिहरुलाई जग्गा बिक्री गराएको हाम्राकुरालाई प्राप्त कागजातले देखाएको छ ।
तिलोत्तमा नगरपालिका वडा न-१७ मुडेरी हाल वडा न-९ मंगलापुरमा बस्दै आएका शंकरबहादुर दमैले लोहागुनसँग २०७७ फागुन २६ गते जग्गाधनी लालपूर्जामा देखिएका नन्दलालबाट किनिएको देखाइए पनि लोहागुनको जग्गा भएको दाबी गर्दै उनीबाट आफुले किनेको जग्गाको लालपूर्जा भएको तर हालसम्म जग्गा नभएको बताउँदै पटकपटक जग्गा दिनुपर्ने वा पैसा फिर्ता गरिदिन आग्रह गर्दा पनि कुनै वास्ता नगरेर पीडित बनाएको बताए ।
उनी भन्छन्, 'हामीलाई दलबहादुरले जग्गाको फिल्ड देखाएर जग्गा यही हो, यसैभित्र कुनै छेवैमा पर्छ भन्दै जग्गा पास गर्न जाऔँ भन्नुभयो र मैले एकपटक राम्रोसँग जग्गा हेर्छु र पास गर्न जान्छु भन्दा उहाँले पहिले पास गरौं अनि जग्गा हेरौंला भनेर १६ धुरलाई आठ लाख रुपैयाँ लिनुभयो । तर राजिनामा भने पाँच लाख रुपैयाँ लेखाउनु भएछ ।'
उनले अगाडि भने, 'उहाँले यतिमात्रै गर्नुभएन, जनउत्थान लघुवित्तबाट जग्गा किनेको पछिल्लो दोस्रो दिन लघुवित्तबाट पाँच लाख रुपैयाँ ऋण निकालिदिनु भयो । के कसरी ऋण पाइयो हामीलाई केही थाहा छैन । मुक्तिनाथ बैंकबाट पनि दुई लाख रुपैयाँ निकालेर कूल आठ लाख रुपैयाँ जग्गा किनेको लैजानु भयो । आज उक्त ऋण तिर्न निकै सकस भएको छ । न ऋण तिर्न सकेको छु, न जग्गा फिल्डमा पाएको छु । दैनिकी काम गरेर कमाएको पैसाले ब्याज र किस्ता तिरेको छु ।'
गुल्मीको साविक हर्दिनेटा गाविस वडा ६ (हाल तिलोत्तमा नगरपालिका वडा न-४ नयाँमिल) बस्ने सावित्रा अर्याल पनि आफू ठगिएको बताउँछिन् । ५९ वर्षीया अर्याल भन्छिन्, 'मैले ०७७ फागुन २६ गते लोहागुनसँग १० धुर जग्गा पाँच लाख रुपैयाँमा किनेको हुँ । मलाई सँधियारमा रहेको अर्काको जग्गालाई २० फुटे बाटो भनेर बिक्री गराएको जग्गामा बाटो नै रहेनछ, यो कुरा जग्गा किनेपछि मात्रै थाहा पाएँ ।
उनले थपिन्, 'म जस्तै अरुलाई पनि यसरी नै बिक्री गरिएको रहेछ, मसहित हामी नौ जनाले ०८१ कार्तिकमा जग्गाको बाटो निकास खुलाई पाउँ भनी बर्दघाट नगरपालिकाको न्यायिक समितिमा पाल्पाको साविक बाँधपोखराथोक वडा नं ६ हाल बुटवल उपमहानगरपालिका वडा न-११ पंगेनी पथ बस्ने दलबहादुर लोहागुन, बर्दघाट-११ का निलम कुमारी चौधरी, फुलगोनी थरुरी, नन्दलाल चौधरीविरुद्ध फिराद सरहको निवेदनसमेत पेश गरेका हौँ । यस विषयमा नेपाली कांग्रेसका उपसभापति बिक्रम खनाल सरले पनि लोहागुनलाई तुरुन्तै यो विवाद मिलाएर पीडितहरुलाई न्याय दिनुपर्छ भनेर भन्नुभएको हो । त्यतिबेला म मिलाउँछु भनेका लोहागुन सम्पर्कविहीन भएर बसे ।'
गुल्मीको साविक रुरू गाविस वडा नं ४ हाल बुटवल-११ देविनगर बस्दै आएकी रीता भण्डारीले आफू पनि ठगिएको बताइन् । उनले भनिन्, 'मैले किराना पसल गर्थे, बिहान साँझ दलबहादुर सर आएर मलाई एउटा जग्गा जसरी पनि किन्नुस् भनेर बारम्बार भनेपछि किनेकी हुँ, त्यसपछिबाट मेरो पसल पनि डुब्यो, मलाई मुक्तिनाथ बैंकमा ऋण निकाल्न लगाएर अरुलाई दिन लगाउनुभयो, जसको तमसुक म सँग छ । आज उक्त बैंकको ऋण गलपासो बनेको दुःखेसो पोखिन् ।'
फिरादमा यस्तो लेखिएको छः, हामी निवेदकले नवलपरासी जिल्ला साविक गाविस वडा न-४ हाल बर्दघाट-११ स्थित कित्ता नम्वर २४३, २५७, २५५, २७४, २७०, २६९, २५१, २३८, २७५, २७६ का घडेरी जग्गाहरु ०७६ साल मंसिर ६ गतेदेखि ०७७ फागुन २६ गतेसम्म पटकपटक गरी हामीले जग्गा खरिद गरी आएका थियौं । विपक्षीहरुले जग्गा बिक्री गर्दाको अवस्थामा हामीले खरिद गरेको जग्गामा २० फुटे बाटो पुर्याई दिने र सो पश्चात् हाम्रो जग्गामा हामीले आफैँले जग्गा छोडी बाटो कायम गर्ने शर्तमा हामीले जग्गा खरिद गरेको भएता पनि विपक्षीहरुले हालसम्म बाटोको जग्गा कित्ताकाट गरी सार्वजनिक गरी २० फुटे बाटो कायम गरी दिनुपर्नेमा बाटो खोलेर दिएनन् । हामी निवेदकहरुले निजहरुलाई पटकपटक उत्तः जग्गामा २० फुटे बाटो कायम गरी निकास खोली दिन अनुरोध गर्दासमेत निजहरुले बेवास्ता गरी आएको हाल निजहरु हामीहरुको सम्पर्कमा नरही हामीलाई जग्गा बिक्रि गर्दाका शर्त अनुसारको कार्य नगरी लुकिछिपी बसेका छन् । निज विपक्षीलाई यस कार्यालयमा झिकाई उक्त हामीले किनेको जग्गामा बाटो खुलाउने बिषयमा आवश्यक छलफल जो जे गर्नुपर्छ गरी विपक्षीहरुले हामी जग्गा खरिदकर्ताहरुसँग गरेको सहमति तथा शर्त अनुसार २० फुटे बाटोको लागि जग्गा कित्ताकाट गराई उक्त बाटो सार्वजनिक समेत गरी न्याय दिलाई पाउँ ।
हाम्राकुरालाई प्राप्त जग्गाधनी लालपूर्जा अनुसार सप्तरीको महादेवा गाउँपालिका वडा न-५ का अब्दुरहीम अन्सारीलाई ०७६ मंसिर २० गते २५९ (१०) धुर र २२ गते कित्ता नम्वर २५१ को (९) धुर, २५२ को (८.७५) धुर, २५३ को ९ धुरगरी कुल एक कठ्ठा १६.७५ धुर तीन वटा लालपूर्जामा चारवटा कित्ता एकैदिन पास गरिएको भेटिएको छ । यसरी ठगिनेहरुमा अर्घाखाँचीका डाँसुराम डाँगी, स्याङ्जाकी कल्पना न्यौपाने, बाग्लुङकी धनि विश्वकर्मा गरी चौध जनासँग भएको सोह्र वटा जग्गाधनी प्रमाणपत्र सुरक्षित छन्, भने अन्य थप पीडितहरु रहेको बताइएको छ ।
लालपूर्जामा जग्गाधनी देखिएका नन्दलाल चौधरी भन्छन्, 'मसँग लोहागुन जीसँग साना किसान सहकारी बर्दघाटमा पहिलोपटक भेट भएको हो, त्यो बेलामा उहाँले मलाई दाई मैले तपाईको ठाउँमा जग्गा किन्ने सोँचेको छु, मलाई जग्गा मिलाइदिनुस् न भन्नुभयो, मैले स्थानीय हिरालाल चौधरीको जग्गा मिलाइदिए, उहाँले किन्नु भयो । पास गर्ने बेलामा मलाई उहाँले यो जग्गा हजुरको नाममा पास गरिदिनुपर्यो, मैले बिक्रि गर्ने हो, यत्तिकै कित्ताकाट हुँदैन, कित्ताकाट नगरी बिक्रि गर्न मिल्दैन, तपाईको नाममा लिएर परिवारमा अंशबण्डा गर्नुहोसु र बिक्री गर्न मिल्छ, मैले उहाँले जसोजसो भन्नुभयो, मैले उहाँलाई मानवीय सेवा गर्ने सोँचेर मेरो नाममा लिएको लिएको हुँ तर यहाँ त अहिले उक्त जग्गा किन्नेहरु पीडित बनेका छन् ।'
वास्तविक जग्गा बिक्री गर्ने जग्गाधनी हिरालाल चौधरीले आफूले बुटवलको दलबहादुर लोहागुन भन्नेलाई बिक्री गरेको बताए । प्रतिकठ्ठा तीन लाखको दरले बिक्री गरेको बताउँदै उनले खोलाले करिब तीन चार कठ्ठा काटेको र फिल्डमा नभएको बताए । 'मसँग त्यो बेलामा लोहागुनले पीडितहरुलाई ल्याएर बसाल्ने हो भनी जग्गा किन्नुभएको हो । कस्तो पीडितलाई ल्याएर किनाउनुभयो, उहाँले पछि मान्छे ल्याएर बिक्री गर्दै हुनुहुन्थ्यो पछि के गर्नुभयो मलाई थाहा भएन', उनले भने ।
सो विवादित बनेको जग्गाको सँधियार एवं बर्दघाट नगरपालिका वडा न-११ का वडाध्यक्ष फणेन्द्र चौधरीले लोहागुनले मेरो जग्गालाई बाटो भन्दै झुठो बोलेर जग्गा बिक्री गरेको रहेछन् । म जनप्रतिनिधि भएर आएपछि पीडितहरु म कहाँ आएर थाहाँ पाए, जानकारी पाएपछि मैले फोन नम्वर पीडितहरुबाट मागेर लोहागुनलाई तुरुन्तै फोन सम्पर्क गरे र भने तपाईले मेरो जग्गालाई बाटो भनी तपाईको जग्गा बिक्री गर्नुभएको रहेछ, भनेर फोनमा भन्दा, उनले भेटेर कुरा गर्ने भनेपछि धेरै पटक छलफल गर्यौं कुनै टुङ्गो लागेन । यसमा किन्ने मान्छेहरु ठगिएका छन्, यसमा कुनै शंका छैन ।
जनउत्थान सामुदायिक लघुवित्तबाट कर्जा प्रवाह
लोहागुनले व्यक्तिहरुलाई जग्गा बिक्री गराएर मात्रै ठगेका छैनन् । अघिल्लो दिन किनिएको जग्गालाई अर्को दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थान लिमिटेडमा धितो राखेर ऋण निकाली जग्गाको पैसा असुल गर्दै लालपूर्जा धनीलाई ऋण थमाइदिएको तथ्य भेटिएको छ । जबकि सहकारी तथा लघुवित्त वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को धारा ४९ संस्थाले ग्राहकको धितोको मूल्यांकन, कानूनी वैधता र स्वामित्व अधिकार सुनिश्चित गर्नुपर्ने स्पष्ट लेखिएको छ । जसले गर्दा संस्थाले धितो वस्तुको स्वामित्व र सुरक्षा सुनिश्चित गरेपछि मात्र कर्जा दिन सकिने व्यवस्था उल्लेख छ ।
के छ प्रावधान ?
लघुवित्त वित्तीय संस्थाले “मूल्य सुनिश्चित” मूल्यांकन परिपक्वता र “दाबीमुक्त” सम्पत्ति मात्र धितोमा लिन्छ। आज किनिएको जग्गा हालसालै दर्ता भएको हुँदा, त्यसमा भविष्यमा विवाद, किर्ते वा कर छलजम गर्न खोजिएको आशंका हुन सक्छ। सहकारी तथा लघुवित्त वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को धारा ४९ संस्थाले ग्राहकको धितोको मूल्यांकन, कानूनी वैधता र स्वामित्व अधिकार सुनिश्चित गर्नुपर्नेछ ।
यस्तो छ कानून
झुटो विवरण वा गलत कागजात दिई कर्जा लिने मुलुकी अपराध संहिता, २०७४, धारा २४९ (ठगी) ३ वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै, किर्ते कागजात बनाएर धितो राख्ने धारा २७६ र २७८ (किर्ते) ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने प्रावधान रहेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को धारा २४९ ठगीको कसुर सम्बन्धमा कसैले झुठा बहाना देखाई, असत्य सूचना दिई, कसैलाई फसाई वा भ्रममा पारी आफ्नो फाइदाको लागि अरुलाई हानि पुर्याएमा ३ वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना, वा दुवै र ठगीबाट हानी भएमा त्यो बराबरको क्षतिपूर्ति तिराउनु पर्ने उल्लेख छ । लोहागुनले घटनाक्रम, पीडितहरुको भनाई, स्रोतका रुपमा जुटाइएका प्रमाण र सम्बन्धित जग्गाधनी लगायतको स्पष्टीकरण सुन्ने हो भने यही कानुन आकर्षित हुन्छ ।
जग्गा किचलोसँग सहकारीको साइनो के ?
०७६ साल जेठ २३ गते तपशिलका व्यक्तिहरुले सहकारी संस्था खोली सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर बढाउने अभिप्रायले सहकारीको अध्यक्ष लोहागुनलाई बनाएर ३५ जनालाई समावेश गरिएको पहिलो प्रारम्भिक भेलाको निर्णय पुस्तिकाले जनाएको छ । बुटवल उपमहानगरपालिकामा ०७६ माघ २९ गते दर्ता गरेको देखिन्छ ।
सोही अध्यक्षसमेत रहेका लोहागुनले बर्दघाटमा जग्गा किनेर सोही वर्षको मंसिर ६ गतेदेखि ०८२ सालसम्म बिक्री गरेको तथ्य प्रमाणले सहकारी सञ्चालनको लागि उठाइएको पैसा जग्गामा लगाइएको हो कि अध्यक्ष लोहागुनले व्यक्तिगत लगाएका हुन् भन्ने कुरा शंकास्पद रहेको छ । सहकारीको नाम कृषि राखिएको र जग्गा बिक्री प्रकरणमा जोडिएका व्यक्ति नै सहकारीको अध्यक्ष भएकाले सहकारीमाथि प्रश्न उब्जिएको छ ।
कर छलीको शंका
लालपूर्जा भएका यी कित्ता नम्वरका २५१ मा कम जग्गा छ, २५३ कित्ता र २७९ मा फिल्डमा जग्गा छैन भने २७३ मा जग्गा कम छ । नक्सामा देखिएको ३४ वटा कित्ताकाट, राजिनामा कायम गरिएको थैली रकम र पीडितहरुले पैसा बुझाएको भनाईलाई आधार मान्ने हो भने सरदर ५ लाख रुपैयाँका दरले १ करोड ७० लाखमा बिक्री गरेको देखिन्छ ।
सोही १९ कठ्ठा जग्गालाई लोहागुनले ५७ लाखमा किनेर जग्गा किन्नेहरुलाई बेच्दा बुझाएको रकम र थैली रकममा फरक रहेकाले जग्गा प्रकरणमा कर छली भएको हुनसक्ने प्रवल सम्भावना देखिन्छ ।
पाँच लाख रुपैयाँ थैली कायम गरेको जग्गामा पास गर्दाकै बखत ६ लाख रुपैयाँ जनउत्थान लघुवित्तबाट ऋण लगानी गरेको यथेष्ट प्रमाणहरुले लघुवित्तको पनि मिलेमतो नभई नयाँ जग्गालाई तुरुन्तै कर्जा दिनु कानूनको धज्जी उडाइएको स्पष्ट छ ।