अनुराधा कोइरालालाई पद्म श्री, पहिलो पटक गैर भारतीयलाई सम्मान
प्रकाशित २०७३ माघ १२ बुधबार
1.7k
Shares
काठमाडौं । माइती नेपालकी अध्यक्ष एवं समाजसेवी अनुराधा कोइराला पद्म श्री पुरस्कारबाट सम्मानित हुने भएकी छिन् । छिमेकी भारतले पहिलो पटक गैर भारतीयलाई यो पुरस्कार प्रदान गर्न लागेको हो ।
कोइराला पद्म श्री अवार्ड २०१७बाट सम्मानित हुन लागेको भारतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । गणतन्त्र दिवसको अवसरमा भारतले पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको हो । यो वर्ष सर्वोच्च नागरिक सम्मान भारत रत्न भने कसैलाई नदिइने जनाइएको छ ।
पद्म भूषणबाट ७ जना सम्मानित हुने छन् । तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म श्री ३५ जनाले पाउने छन् । सोही सूचीमा अनुराधा कोइराला पनि अटाइन् । अनुराधा सीएनएन हिरोसमेत हुन् । गैरआवासीय भारतीयका रुपमा अनुराधासँगै एड्स अनुसन्धानकर्ता डा. सुनिती सोलोमन र कलाकार इमरान खान पनि पद्मश्रीबाट सम्मानित हुँदै छन् ।
को हुन् अनुराधा ?
अनुराधा माइती नेपालमार्फत निरन्तर बेचिएका चेलिबेटी र बेचिन लागेका चेलिबेटीको उद्धारमा खटिएकी छन् । माइती नेपाल मुख्यतः भारतीय कोठीहरुमा बेचिएर नारकीय जीवन विताउन वाध्य नेपाली चेलिबेटीको उद्धार र पुनःस्थापनामा कृयाशील छ ।
अनुराधाले २०१० को सीएनएन हिरोको उपाधि पनि पाएकी छन् । अमेरिकाको लसएन्जल्समा सीएनएन हिरोको उपाधि लिन जाँदा उनलाई डेमी मुर र एस्टन कचरले मन्त्रमा चिनाएका थिए । २०१४ मा अनुराधाले मदर टेरेसा सम्मान पनि पाइन् ।
२००६ साल वैशाख २ (१४ अप्रिल १९४९) मा ओखलढुङ्गाको रुम्जाटारमा गुरुङ परिवारमा जन्मिएकी अनुधारा साँच्किै राधा भइन् । अनुराधाका बुबाको नाम कर्णेल प्रताप शिंह गुरुङ र आमाको नाम लक्ष्मी गुरुङ हो ।
१० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कोलकाताबाट बीए पास गरिन् । चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्ये उनी काँइली हुन् । १९ वर्षको कलिलो उमेरमै काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि ‘प्रयास नेपाल’ नामको गैरसरकारी संस्था चलाउँदै आएका छन् ।