arrow

मध्यपुरथिमिको ऐतिहासिक निलबाराही गणनाच आजदेखि शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
nilbarahi.JPG

भादगाउँ । मध्यपुरथिमि नगरपालिकाको बोदेस्थित ऐतिहासिक एवं तान्त्रिक विधिमा आधारित निलबाराही द्यो प्याखँ (गणनाच) आज रातिदेखि शुरु हुँदैछ। गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म चार दिन चार रात यो नाच प्रदर्शन गरिनेछ।

बोदेको नारायणथान लाछीबाट शुरु हुने यो नाचमा भैरव, बाराही, कुमारी, सिंह, द्वारपाल र गणेश गरी १९ जना देवगण सहभागी हुन्छन्। देवगणका सहयोगी (जोकल) र बाजागाजा बजाउने टोलीसहित १०० भन्दा बढी व्यक्ति यसमा सक्रिय रहने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले जानकारी दिए।

यस वर्षको नाचमा नयाँ सदस्यको आगमन भएको छ। दिवंगत राजकुमार पाँको स्थानमा उनका नाति साहिल पाँ दोस्रो सिन्द्यो भगवान बन्ने भएका छन्।

निलबाराही द्यो प्याखँ तन्त्रमा आधारित एक कठोर नाच हो। यसमा देवगण बनेर नाच्ने व्यक्तिले घरबाट निस्किएपछि कसैसँग बोल्न नहुने, पानी परे पनि ओत लाग्न नहुने, छाता ओढ्न नहुने, तिर्खा लागे पानी पिउन नहुने र थकाइ लागे जोकलको तिघ्रामा मात्र बस्नुपर्नेजस्ता कडा नियमहरू पालना गर्नुपर्छ। उनीहरूले दैनिक १४ देखि १५ घण्टासम्म निरन्तर नाच्नुपर्ने हुन्छ।

यो नाच बोदेको लायकु छें, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल र निलबाराही स्थान हुँदै पुनः नारायणथानमा पुगेर सम्पन्न हुन्छ। नाचमा धाँ बाजा, भुस्या, काँय र पोँगा बाजाको तालमा परम्परागत शैलीमा देवीदेवताहरूले नृत्य गर्छन्। एकपटक देवता बनेको व्यक्तिले आफ्नो जीवनकालभर सोही स्थानमा रहेर नाच प्रदर्शन गर्नुपर्छ भन्ने मान्यता रहेको छ।

यो नाच कहिलेदेखि शुरु भयो भन्नेबारे यकिन प्रमाण नभेटिए पनि यसको उत्पत्ति भक्तपुरको नवदुर्गा नाचसँगै भएको स्थानीयहरूको भनाइ छ। एक प्रचलित किंवदन्तीअनुसार, धों श्रेष्ठको परिवारका सदस्यहरू खेतमा काम गर्दा अचानक हराएका थिए र उनीहरूलाई निलबाराही देवीले नै नाच सिकाएर पठाएको विश्वास गरिन्छ।

अन्य धेरै गणनाचहरू लोप भइरहेको अवस्थामा पनि बोदेको निलबाराही द्यो प्याखँ मल्लकालदेखि निरन्तर सञ्चालन भइरहेको छ। नाचका लागि आवश्यक खर्च देवताहरूले नै व्यहोर्नुपर्ने भए पनि गुठीको जग्गाबाट प्राप्त आम्दानी र भेटीलाई सामूहिक भोजका लागि प्रयोग गरिन्छ। पछिल्लो समय मध्यपुरथिमि नगरपालिकाले पनि यस नाचको संरक्षणका लागि आर्थिक र अन्य सहयोग गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ