पाँचथर। पाँचथर जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा लडेर ज्यान गुमाउनेको संख्या २५ पुगेको छ, जुन भवितव्य ज्यानका घटनामध्ये सबैभन्दा बढी हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताएअनुसार, विशेष गरी ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्दा वा मादक पदार्थ सेवन गर्दा धेरैको अनाहकमा ज्यान गएको पाइएको छ।
यसैगरी, घाँसदाउरा गर्न, पशु चराउन वा अन्य काममा गएका मानिसहरू पनि लडेर ज्यान गुमाउने गरेका छन्। ग्रामीण क्षेत्रमा समयमै उद्धार हुन नसक्दा मृत्यु हुनेको संख्या अझै बढेको प्रहरीको भनाइ छ।
गत आर्थिक वर्षमा विभिन्न कारणले ६२ जनाको भवितव्य ज्यान गएको थियो। जसमा, कारण नखुलेका १४ जना, अचानक बिरामी भएर वा खोलाले बगाएर ६/६ जना, आगोले जलेर, अरिङ्गालले टोकेर वा करेन्ट लागेर २/२ जना र चट्याङ लागेर, रुखले किचेर, सवारीसाधनबाट वा पहिरोमा परेर १/१ जनाको ज्यान गएको बुढाथोकीले जानकारी दिए।
गत वर्ष पाँचथर प्रहरीमा जम्मा २३२ वटा मुद्दा दर्ता भएका छन्। यसमध्ये भवितव्य ज्यानका ६२ वटा, आत्महत्याका ४८, अभद्र व्यवहारका २७, बैंकिङ कसुर र जबर्जस्ती करणीका १२/१२ र ज्यान मार्ने उद्योगका १० वटा मुद्दा रहेका छन्। विगतका चार आर्थिक वर्षमा मुद्दा दर्ताको संख्या लगभग स्थिर रहेको प्रहरीको तथ्यांकले देखाएको छ।
जिल्लाको अपराधको प्रवृत्ति र दरका आधारमा प्रहरीले कार्ययोजना बनाएर काम गर्दै आएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताएका छन्।