सौर्य एयरलाइन्स दुर्घटना मानवीय त्रुटिले भएको सरकारी आयोगको निष्कर्ष [भिडियो]
यात्रुले सिट बेल्ट बाँधेका थिएनन्, बाटोका कारण रेस्क्यूमा ढिला भएको थियो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
671
Shares
काठमाडौँ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिकै कारण भएको सरकारी छानबिन आयोगले निष्कर्ष निकालेको छ। दुर्घटनापछि सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्ष रतिशलाल सुमनले आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सो कुराको जानकारी दिए।
अध्यक्ष सुमनका अनुसार, आयोगले दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’ र ‘सेफ्टी म्यानेजमेन्ट सिस्टम’ लगायतका पक्षमा गहन अध्ययन गरेको थियो। जहाज एयरपोर्टबाट उडेर ट्याक्सी वे हुँदै मेन रनवेबाट कोटेश्वरतर्फ जाँदै गर्दा १८० डिग्री मोडिएर इन्जिन टेकअप गर्दा दुर्घटना भएको देखिएको छ।
उक्त दुर्घटनामा १९ जना यात्रुमध्ये क्याप्टेन मात्रै जीवित थिए भने १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। सुमनले भने, "जहाज सुरुमा रनवेमा दाहिने पखेटा ठोक्किएपछि एयर डाइनेस्टिक हेलि सर्भिसको कन्टेनरमा ठक्कर लागी पल्टियो। त्यसपछि ककपिट भाँचिएर खाल्डोमा झरेको देखिन्छ।" सोही क्रममा क्याप्टेन, को-पाइलट र इन्जिनियर खाल्डोमा परेका थिए। एक जना इन्जिनियर जीवितै बाहिर निस्केका थिए।
अध्यक्ष सुमनका अनुसार, दुर्घटनाग्रस्त जहाज क्यानडामा सन् २००३ मा बनेको थियो र त्यसमा दुईवटा इन्जिन थिए। जहाज उड्दा मौसम एकदमै राम्रो रहेकाले दुर्घटनामा मौसमको कुनै भूमिका नदेखिएको प्रतिवेदनमा उल्लेख छ। साथै, जहाजमा कुनै प्राविधिक खराबी पनि नदेखिएको बताइएको छ।
प्रतिवेदनअनुसार, जहाजमा चढेका धेरैजसो यात्रुहरूले सिट बेल्ट लगाएका थिएनन्। उद्धारका क्रममा सिसि टिभी फुटेज हेर्दा दमकल ४० सेकेन्डमै घटनास्थलमा पुगेको देखिए पनि दुर्घटना भएको ठाउँमा खाल्डोका कारण दमकललाई पहुँच पुग्न समस्या भएकोले उद्धारमा ढिलाइ भएको थियो।
सुमनले पाइलट र को-पाइलट दुवैको उडान समयको पनि अध्ययन गरिएको बताए। क्याप्टेन ६,०८५ घण्टा उडेका थिए भने को-पाइलट १,८२४ घण्टा उडेका थिए। नागरिक उड्डयनको नियमअनुसार महिनामा १०० घण्टा र वर्षमा १,००० घण्टाभन्दा बढी उड्न पाइँदैन। अध्ययनका क्रममा उनीहरू दुवै थकानमा नरहेको वा कडा ड्युटी गरेको नदेखिएको सुमनले बताए।