पाकिस्तानमा भारी वर्षा र बाढीले तीन सय २० जनाको लियो ज्यान
थप वर्षाको चेतावनी, राष्ट्रिय शोकको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
749
Shares
काठमाडौँ। पाकिस्तानमा पछिल्लो ४८ घण्टाको लगातारको मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा ३२० जनाको मृत्यु भएको छ। यस प्रकोपबाट सबैभन्दा बढी प्रभावित खैबर पख्तुनख्वा प्रान्त हो, जहाँ १८० जनाले ज्यान गुमाएका छन्।
प्रहरीका अनुसार, बाढी र पहिरोले पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान लिएको छ। मृत्यु हुनेहरूमा महिला र धेरै बालबालिकाहरू पनि छन्। उद्धार कार्यमा खटिएको प्रान्तीय सरकारको हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन्।
सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाहरूले यस घटनालाई ‘प्रलय’ सरहको भयावह अवस्था भनेका छन्।
पाकिस्तानको मौसम विभागले आगामी दिनमा अझ भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यस प्रकोपका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शनिबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरिएको छ, जहाँ राष्ट्रिय झण्डा आधा झुकाइनेछ र मृतकहरूको राज्य सम्मानसहित अन्त्येष्टि गरिनेछ।
जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसमी घटनाहरू बढ्दै गएका छन्। यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ।