हवाई आक्रमणमा कम्तीमा ३६ को मृत्यु, एक सय ६३ घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
272
Shares
काठमाडौँ । अफगानिस्तानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने एक सय ६३ जना घाइते भएका छन्।
अफगान सरकारका सहायक प्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै आइतबार राति पाकिस्तानसँग सीमा जोडिएका पक्तिया, पक्तिका र कुनार प्रान्तमा आक्रमण भएको बताएका छन्।
अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त सैन्य कारबाहीको कडा शब्दमा निन्दा गर्दै यसलाई अफगानिस्तानको सार्वभौमिकतामाथिको उल्लंघन भएको बताएका छन्।
यता, पाकिस्तानका संघीय सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले सीमा क्षेत्रमा सक्रिय प्रतिबन्धित समूह तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र जमात-उल-अहरारविरुद्ध स्थल तथा हवाई कारबाही गरिएको पुष्टि गरेका छन्।
पाकिस्तानका अनुसार उक्त कारबाहीमा २९ जना आतंककारी मारिएका छन्। मारिएका व्यक्तिहरू पाकिस्तानमा सर्वसाधारण तथा सुरक्षा निकायमाथि भएका विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको दाबी पनि पाकिस्तानले गरेको छ।
घटनापछि अफगानिस्तान-पाकिस्तान सीमा क्षेत्रमा तनाव बढेको छ। आक्रमणबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारको काम जारी रहेको अफगान अधिकारीहरूले जनाएका छन्।