अहिलेको आवश्यकता सङ्क्रमणकालीन अवस्थाको अन्त्य : ओली
प्रकाशित २०७३ माघ १३ बिहिबार
737
Shares
वालिङ । एमाले अध्यक्ष ओलीले संविधानको कार्यान्वयन गरी वर्तमान सङ्क्रमणकालको अन्त्य गर्नु आजको आवश्यकता भएको बताएका छन् । छैटौँ वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश अहिले सङ्क्रमणकालमा रहेकाले यसको निकासका लागि पनि संविधानको कार्यान्वयन जरुरी रहेको बताए ।
‘सरकारले अहिले संविधानको कार्यान्वयनभन्दा पनि संविधान संशोधनको कुरा अगाडि सारिरहेको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई निकास दिएर सङ्क्रमणकालबाट बचाउने नै हो भने छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प छैन ।’
राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले लोकतन्त्र छाडेर देश प्रतिगमनतर्फ नजाने तर लैजानका लागि भएका प्रयासहरु पनि असफल हुने दाबी गरे । अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशकाबारेमा सोच्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान कार्यान्वयन भएन भने मुलुक दुर्घटनामा जाने बताए । संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए । महोत्सव माघ २३ गतेसम्म चल्नेछ। रासस