arrow

अनौठो 'नांखा पूजा' : भूत धपाउन नदीमा हाम फाल्ने परम्परा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
nisidhor.jpg

ढोरपाटन (बागलुङ) . बागलुङको निसीखोला गाउँपालिका–५ मा रहेको निसेलढोर गाउँमा हरेक दुई वर्षमा गरिने 'नांखा पूजा' (गाउँ पूजा) पछिल्लो समय मेलामा परिणत भएको छ। मगर खाम भाषामा 'नांखा पूजा' भनिने यो परम्परा एक हजार वर्ष पुरानो रहेको विश्वास गरिन्छ।

यो पूजा अन्यभन्दा फरक र अनौठो छ। साउन मसान्तको साँझ गाउँका सबै झाँक्रीहरू एकै ठाउँमा भेला भएर तन्त्रमन्त्र गर्छन्। त्यसपछि केही युवाहरूले अर्ध-नग्न भई अनुहार र शरीरमा मोसो दलेर राक्षसको रूप धारण गर्छन्। यी युवाहरूलाई 'कापै' भनिन्छ। झाँक्री र 'कापै' हरू दौडिँदै गाउँमा अनिष्ट गर्ने भूतप्रेत र राक्षसलाई लखेट्दै उत्तरगंगा नदीमा खसाल्छन्।

राक्षसको रूप धारण गरेका 'कापै' हरू बराह थानबाट पूजा गरेर फर्किएपछि उत्तरगंगा नदीमाथि रहेको अग्लो झोलुंगे पुलबाट उर्लिएको नदीमा हाम फाल्छन्। स्थानीयको विश्वासअनुसार, यसरी हाम फालेर भूतप्रेतलाई नदीमा खसालेपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट हुँदैन। स्थानीय राजमन बुढा मगरका अनुसार यस पुलमा दैवी शक्ति रहेकोले हाम फाल्ने 'कापै' लाई चोटपटक लाग्दैन र नदीले पनि बगाउँदैन।


निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरका अनुसार, हजार वर्षअघि गाउँमा अनिष्ट हुन थालेपछि यो पूजा सुरु गरिएको थियो। बसाइँसराइको क्रममा हिँड्न नसक्ने वृद्धवृद्धा (जुजाजुजी) लाई ओडारमा छाडेपछि उनीहरूको मृत्यु भएको र उनीहरूको आत्माले गाउँमा अनिष्ट गराउन थालेपछि शान्तिका लागि यो पूजा सुरु गरिएको जनविश्वास छ।


यो विशिष्ट मौलिक संस्कृति लोप हुन नदिन निसीखोला गाउँपालिका र स्थानीय युवाहरूले चासो देखाएका छन्। यस वर्ष गाउँ पूजालाई व्यवस्थित गर्न 'गाउँ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति' नै गठन गरिएको थियो। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले यस्ता लोपोन्मुख संस्कृतिहरूको संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ