संसदमा उपसभामुखको विषयमा राप्रपा र एमाले सांसदबीच विवाद
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
1.7k
Shares
काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा उपसभामुखलाई हटाउन खाली कागजमा हस्ताक्षर गराइएको भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्की र नेकपा (एमाले)का सांसद सूर्य थापाबीच भनाभन भएको छ।
सांसद कार्कीले एमाले र नेपाली काँग्रेसका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएर ‘नाटक’ रचिएको भन्दै कटाक्ष गरिन्। उनले संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्ना ‘आसेपासे’लाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाउँदै ‘कस्तो पार्टी, कस्ता सांसद, धिक्कार होस्’ भन्ने टिप्पणी गरिन्।
उनले भनिन्, “संवैधानिक परिषदमा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी? कस्ता सांसद धिक्कार होस्।”
कार्कीको टिप्पणीपछि सांसद सूर्य थापाले आपत्ति जनाउँदै संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरू स्वीकार्य नहुने बताए। उनले ‘मण्डले’ हरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह गरे।