मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन वडा नं. ५ भौंसाबारीमै निर्माण हुने भएको छ ।
यस विषयमा यसअघि लामो समयदेखि विवाद चलिरहेकामा सर्वोच्च अदालतको फैसलासँगै गाउँपालिकाको प्रशासनिक भवन भौंसाबारीमा बन्ने भएको हो ।
कोशी प्रदेश सरकारको २०८० माघ २९ मा सम्पन्न मन्त्रिपरिषद् बैठकले गाउँपालिकाको प्रशासनिक भवन वडा नं. ६ बाट स्थानान्तरण गरी वडा नं. ५ भैंसाबारीमा सार्न सिफारिस गरेको थियो ।
साथै २०८० बैशाख १७ गते बसेको गाउँपालिकाको १३औँ गाउँसभाको बैठकबाट दुई तिहाई बहुमतले पालिकाको प्रशासनिक भवन वडा नं ५ मै बनाउने निर्णय गरेको थियो ।
तर, उक्त निर्णयविरुद्ध उच्च अदालत विराटनगर र सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै भवन साविककै स्थान वडा नं. ६ को रमाइलोमा बनाइनुपर्ने माग गरेका थिए ।
सर्वोच्च अदालतले विपक्षीको रिट खारेज गर्दै वडा नं. ६ भौंसाबारीमै प्रशासनिक भवन निर्माणको बाटो खुला गरिदिएको छ ।
अदालथतको फैसलासँगै अब गाउँपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाइसकेको प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जानकारी दिइन् ।
उनका अनुसार भवन निर्माणका लागि आवश्यक प्राविधिक बोलपत्र आव्हान गरी बिडरहरूको पूर्व योग्यता मूल्यांकन प्रक्रियासमेत शुरू भइसकेको छ ।
भौंसाबारीमै प्रशासनिक भवन बन्ने भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।
प्रशासनिक भवन निर्माण कार्यविधि २०७९/८० अनुसार संघीय सरकारको ६० प्रतिशत र सम्बन्धित पालिकाको ४० प्रतिशत लगानीमा पालिकाको भवन निर्माण हुने भएको हो । १६ करोडको लगानीमा निर्माण हुने भवन तीन तलाको हुनेछ ।