arrow

आप्रवासी स्रोत केन्द्र स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
cdo-sahayata-kendra.jpg

पोखरा । पोखरा महानगरपालिकाद्वारा निर्मित आप्रवासी सहायता स्रोत केन्द्र (सहायता कक्ष) को नगर प्रमुख धनराज आचार्यले सेवा शुभारम्भ गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय कास्की परिसरमा निर्माण गरिएको उक्त केन्द्रको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थितिमा नगर प्रमुख आचार्यले सेवा शुभारम्भ गरेका हुन् ।

मेयर आचार्यले राहदानी बनाउन जाने व्यक्तिलाई विदेश जानु पूर्व दिइने आवश्यक परामर्श सेवाका लागि व्यवस्थित सहायता कक्ष निर्माण भएको बताए ।

केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेलाई आवश्यक परामर्श र वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारका लागि वित्तीय साक्षरता समेतका सवालमा परामर्श सेवा दिइने उनले बताए । 

सहायता कक्ष राहदानी शाखाको नजिकै निर्माण गरिएकाले त्यसको प्रयोजन, आवश्यकता र औचित्यका सन्दर्भमा समेत काउन्सिलिङ गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । 

सेवाग्राहीको सुविधाका लागि संरचना निर्माणमा पोखरा महानगरपालिकाले गरेको सहयोगप्रति उनले आभारसमेत व्यक्त गरिन् ।

सेवाग्राहीहरूले विश्राम गर्ने फल्चासहित सहायता कक्ष निर्माणमा पोखरा महानगरपालिकाले १६ लाख रुपैयाँ खर्च गरेको छ । नागरिकको सेवाका लागि अब सहज हुने विश्वास गरिएको छ ।

पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णुप्रसाद दाहाल र सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला संयोजक आदिमध्वज श्रेष्ठले महानगरपालिकाको तर्फबाट श्रम तथा रोजगारको क्षेत्रमा समन्वय गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ