arrow

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि ...

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
prachanda-tension.jpg.jpeg
फलेवास (पर्वत)। नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो। तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो।
 
पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो। विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र सम्पूर्ण धौलागिरिलाई विद्युत्को हव भएको भन्दै प्रशंसा गरिरहेका थिए।
 
उनले कालीगण्डकी प्रसारण करिडोरको काम भइरहेको र यस क्षेत्रमा ठूला जलविद्युत् आयोजना बनिरहेको बताइरहरेका थिए। केहीबेर विद्युत् आउने प्रतीक्षामा उभिरहनु भएका प्रधानमन्त्री विद्युत् नआएपछि सोफामा बस्न पुगे।
 
करिब सात मिनेटपछि जेनेरेटरबाट विद्युत् आपूर्ति गरिएपछि प्रधानमन्त्रीले मन्तव्य सञ्चालन गरेका थिए। विद्युत् सञ्चालन नहुँदा आयोजक र सुरक्षाकर्मीका बीचमा दौडादौड नै चलेको थियो।
 
नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले केन्द्रीय तहबाट नै सिस्टम आउट भएकाले विद्युत् आपूर्ति बन्द हुन पुगेको बताए। अवरुद्ध विद्युत् सेवा भने प्रधानमन्त्री काठमाडौँ फर्केपछि झन्डै डेढ घन्टापछि सञ्चालन भएको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ