भाषा प्रशिक्षण केन्द्रका बदमासीः नक्कली शैक्षिक प्रमाणपत्र, अनूचित भिसा प्रोसेस-हुण्डी कारोबार
नारायण वली,
प्रकाशित २०८२ भदौ ८ आइतबार
1.2k
Shares
लुम्बिनी । इजाजत अनुमति बिना गैरकानूनी रुपमा सञ्चालित भाषा प्रशिक्षण केन्द्र खोल्ने, दर्ता नगरी एजेन्ट भएर काम गर्ने र विद्यार्थीहरुलाई आवश्यक विभिन्न कागजातहरु नक्कली बनाएर सेटिङ मिलाई विदेश पठाउने भन्दै अग्रिम पैसा लिएर नपठाउने जस्ता गतिविधिले पछिल्लोसमय नागरिक ठगिन पुगेका घटना बढ्दै गएको पाइएको छ ।
रुपन्देहीका मुख्य सहरहरू बुटवल र भैरहवाका कतिपय शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रले प्रचलित कानूनले तोकेको बाहेक भिसा प्रोसेस गर्ने, जागिरको ग्यारेण्टी गर्ने, ट्राभल्स एजेन्सी र सहकारीको मिलेमतोमा नक्कली कागजात बनाउने, मेनपावरले गर्ने काम व्यक्तिगत एवं संस्थागत रुपमा गर्ने गरेको, जान चाहेकाबाट पैसा असुलेर लामो समयसम्म नपठाउने गरेको पाइएको हो ।
देविनगरस्थित देवसिद्ध चोकका पीडित बाबुराम पौडेलले आफ्नी छोरीलाई बुटवलको मिलनचोकस्थित रहेको एक कन्सल्टेन्सीबाट बेलायत पठाउने भन्दै भाषा प्रशिक्षण केन्द्रले सिकाएको कुमारी बैंकमा पाँच लाख रुपैयाँ जम्मा गरेको, अरु चौध लाख रुपैयाँ पनि विदेशको कलेजमा हाल्नुपर्छ भन्दै दिए पनि काम नभएको बताउँदै साइन रेसुङ्गा बैंक योगिकुटी शाखाबाट ऋण निकालेर दिएको रकमको महिनामा २५ हजार रुपैयाँ तिर्नुपर्ने बताए ।
यस्तै पीडा छ दाङको घोराही उपमहानगरपालिका वडा न-५ धर्नाका भक्तबहादुर डाँगीको पनि । स्थानीय स्कुलका शिक्षकसमेत रहेका डाँगीले उच्च शिक्षाका लागि युरोप देशमा पठाउने भनेर बुटवलको एक भाषा सिकाई (कन्सल्टेन्सी) मा छोरा गौरब डाँगीलाई पठाउँदा उनको ३४ लाख रुपैयाँ डुबेको दुःखेसो सुनाउँछन् ।
हातमा बैंक मार्फत् पठाएका भौचर लिएर बसेका डाँगीले मासिक रुपमा बैंकबाट कर्जा लिएको ब्याज तिर्दै आएको सुनाए । उनी भन्छन्, 'पैसा गइसक्यो, छोरा युरोप जाने टुङ्गो छैन, कन्सल्टेन्सीमा सोध्दा कुनै वास्ता गर्दैन । ऋणले झन मानसिक तनाबमा परेको छु ।
पौडेल र डाँगी प्रतिनिधिमुलक पात्र हुन् । गैरकानूनीरुपमा भाषा केन्द्र सञ्चालन गर्दै आएका कन्सल्टेन्सीहरुले यस्ता कर्तुतहरु भित्रीरुपमा गर्दै आएको तथ्य प्रहरीले गत आइतबार बेलहिया नाकाबाट ठूलो परिमाणमा भारत तथा नेपालका शैक्षिक संस्था तथा विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम्प लगायतका कागजातसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि रहस्य उजागर भएको छ ।
सम्बन्धित युनिभर्सिटीले आफ्नो भिसा पश्चात भुक्तानी दिए पनि हुने अवस्थामा ऐजुकेशन कन्सल्टेन्सीहरुले विद्यार्थीबाट लाखौँ रुपैयाँ लिएर स्वयं कन्सल्टेन्सी सञ्चालकले चलाउने गरेको स्रोत बताउँछ । एउटा कन्सल्टेन्सीले एक जना पठाए बापत वैधानिक रुपमा पाउने भनेको ३५/५५ हजार हो । तर भिसा लाग्ने बित्तिकै एक लाख रुपैयाँ लिने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख इन्स्पेक्टर मुकेश न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बसपार्क नजिकैबाट भारतको उत्तर प्रदेश कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई नियन्त्रणमा लिएपछि नेपालका भाषा प्रशिक्षण केन्द्रहरुले गर्ने गैरकानूनी कार्यको रहस्य बाहिरीएको हो ।
प्रहरीले पक्राउ परेका भारतीय नागरिकबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउने होलोग्रामसमेत फेला पारेकाले कन्सल्टेन्सीहरुले प्रमाणपत्र बनाउने मात्रै नभई भारतका विश्वविद्यालयका प्रमाणपत्रसमेत फेला परेकाले प्रमाणपत्रहरु तस्करी हुने गरेको खुलेको छ ।
हातमा सुटकेस र झोला बोकेर (भदौ १ गते) आइतार साँझ ६ बजेतिर भारतीय सिमावर्ती बजार सुनौलीबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका यादवलाई बेलहियाकै मुक्तिनाथ होटलमा प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका यादवको साथबाट प्रहरीले भारत उत्तर प्रदेशको एमिटी युनिभर्सिटी, जवाहरलाल नेहेरु टेक्नोलोजिकल युनिभर्सिटी हैदरावाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी कानपुर, असम हाइर सकेण्डरी एजुकेशन काउन्सिल, आन्ध्र युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय, लगायतका भारतीय शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल प्रमाणपत्र, क्यारेक्टर सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेटसहितका कागजातहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता सुरज कार्कीले बताए ।
उनका अनुसार भारतीय शैक्षिक संस्थाका १ हजार २ सय बढी नक्कली शैक्षिक प्रमाणपत्र, लेटरप्याड, एडमिट फर्म लगायत कागजात फेला गरेको जनाए ।
यादवको साथबाट आयुर्वेदिक तथा युनानी तिब्बी चिकित्सा पद्धति बोर्ड उत्तर प्रदेश, डा. अखिलेख कुमार बर्मा रजिष्टर आयुर्वेदिक तथा युनानी तिब्बी चिकित्सा पद्धति बोर्ड उत्तर प्रदेश लगायत अन्य कार्यालयको नाम लेखिएका दर्जनौँ नक्कली छापसमेत बरामद भएको छ । कुनै अंक र अक्षर नभएका स्ट्याम्पहरूसमेत फेला परेको बताइएको छ ।
भारतीय शैक्षिक संस्थाका मात्रै नभइ नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र तथा कागजात समेत बरामद भएको डिएसपी कार्कीले जनाए । प्रहरीका अनुसार यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र ३६ थान, ट्रान्सक्रिप्ट एक सय थान, स्ट्याम्प ३ थान, स्ट्याम्प प्याड ५ थान बरामद भएको छ।
त्रिभुवन विश्वविद्यालय-२०१२ लेखेको २१ बण्डल होलोग्राम ४ हजार ४० थान, उच्च माध्यामिक शिक्षा परिषदको होलोग्राम २ हजार थान (१९ वटा प्याकेट) बरामद भएको छ । त्यस्तै राष्ट्रिय परिक्षा बोर्ड होलोग्राम १ हजार ७ सय थान (१७ प्याकेट), सीटीईभीटी लेखेको होलोग्राम १ हजार ९ सय थान बरामद भएको डिएसपी कार्कीले जानकारी दिए । प्रहरीले यादवको साथबाटचार वटा पेन ड्राइभ, तीनवटा एटीएम कार्ड, १८ हजार ५ सय भारतीय र तीन हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ।
रुपन्देहीका प्रहरी उपरिक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले यो घटनामा संलग्न मुख्य नाइके चितवनस्थित एक कन्सल्टेन्सीका सञ्चालक कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई बिहीबार पक्राउ गरी थप अनुसन्धान अघि बढाएको बताए ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले भाषा प्रशिक्षण केन्द्रका गतिविधिबारेमा कार्यालयमा पनि गुनासो आउने गरेको बताउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट इजाजत अनुमति पत्र, स्थानीय पालिकामा व्यवसाय दर्ता, प्रशिक्षकको न्यूनतम योग्यता स्नातक पास गरेको हुनुपर्ने, भाषा आईएलटीएस पठाउनेको हकमा कम्तीमा ७ अंक ल्याएको हुनुपर्ने, भाषा प्रशिक्षकको कागजात र करार सम्झौता एन टु, आईएलएलटीएस टीआईटीआई लगायतका अन्य नियम पालना गरेको हुनुपर्ने बताए । प्रारम्भिक अध्ययन अनुसार जिल्लामा करिब दुई सय कन्सल्टेन्सी रहेकोमा १६ ओटा मात्रैले मापदण्ड पूरा गरी सञ्चालन गरेको पाइएको छ ।
सञ्चालन कार्यविधि निर्देशिकाः
शैक्षिक परामर्श व्यवसाय सञ्चालन कार्यविधि निर्देशिका, २०७३ को नियम ३ अनुसार अनुमति र दर्ता बिना सञ्चालन गर्न नपाइने, नियम ६ निर्देशन विपरीत कार्य गरेमा कारबाही लाइसेन्स रद्द वा बन्द गर्न सकिने, नियम ७ (१) (इ) अनुमति बिना विदेशी नागरिकलाई शिक्षक वा परामर्शदाता नियुक्त नगर्ने, नियम ९ उल्लङ्घनमा जरिबाना रु पचास हजारदेखि एक लाख रुपैयाँ तथा अन्य कानूनी कारबाही हुन सक्ने व्यवस्था गरिएको छ ।
नेपालमा शैक्षिक तथा भाषा परामर्श व्यवसाय “शैक्षिक परामर्श व्यवसाय सञ्चालन निर्देशिका” र सम्बन्धित ऐन नियम (जस्तै शिक्षा ऐन, उपभोक्ता संरक्षण ऐन, श्रम ऐन, आप्रवासन ऐन आदि) निम्न कार्यहरु नगरेको पाइएमा गैरकानूनी मानिने स्पष्ट लेखिएको छः अनुमति, दर्ता बिना परामर्श सेवा सञ्चालन गर्नु, विद्यार्थी वा सेवाग्राहीलाई झुट्टा आश्वासन दिनु (जस्तैः सजिलै भिसा हुन्छ, ग्यारेन्टी रोजगारी मिल्छ इत्यादि) भ्रष्टाचार वा ठगी कार्य (अन्यायपूर्ण शुल्क असुल गर्ने, रकम लिएर सेवा नदिनु), विदेश पठाउने नाममा दलाली वा मानव बेचबिखनमा संलग्न हुनु, अवैध भाषा प्रशिक्षण सञ्चालन गर्नु (अधिकृत अनुमति नभएको भाषा वा विदेशी संस्थाको नाम दुरुपयोग गर्ने), र कानून विपरीतको विज्ञापन गर्नु कानूनको धज्जी उडाइएको छ ।
यस्तो छ सजाय, कारबाही
कानून, निर्देशिका अनुसार अनुमति बिना परामर्श वा भाषा केन्द्र सञ्चालन गरेको भेटिए तत्काल बन्द गराइने, आवश्यक सजाय जरिबाना वा कारावास, ठगी वा भ्रामक सूचना दिएमा सिविल तथा फौजदारी संहिताअनुसार ठगी मुद्दा चलाइने, रकम बराबर क्षतिपूर्ति कारावास र जरिबाना, विदेश पठाउने नाममा दलाली वा मानव बेचबिखनमा ओसारपसार (नियन्त्रण) ऐन अनुसार १० वर्षदेखि आजीवन कैद, उपभोक्ता संरक्षण ऐन अनुसार जरिबाना वा कारबास र आयकर ऐन अनुसार असुली जरिबाना अतिरिक्त सजाय हुने लेखिएको छ ।
हुन्डी कारोबार
नेपालबाट बाह्य युनिभर्सिटीको फि पठाउँदा, विद्यार्थीको एप्लिकेसन पठाउँदा र नेपालको कन्सल्टेन्सीले बाह्य देशमा विद्यार्थी पठाएको कमिसन नेपाल पठाउँदा हुन्डी मार्फत आउने गरेको एक पूर्व कन्सल्टेन्सी सञ्चालकले बताए ।
उनले थपे-अधिकांश बैंकसँगको मिलेमतोमा विद्यार्थीलाई आवश्यकै नपर्ने "विद्यार्थी भिसा कर्जा" बनाएर बैंकले कम्तिमा ५० हजार लिने र उक्त रकम कन्सल्टेन्सीसँग बाँडफाँड गर्ने गरेको खुलाए । जसले वार्षिक राजस्वमा लाखौं रुपैयाँ छली गरेको देखिन्छ ।