पाँचथर । अन्धकारमा बस्नु पर्ने दिन गएको भन्दै पाँचथरको दुर्गम गाविस फाक्तेपवासीले सामुहिक रुपमा भतेर गरी खुशियाली मनाएका छन् ।४२ लाख रुपैंयाँ बराबरको श्रमदान र आर्थीकले ट्रान्स्मीटर, तार र पोल व्यवस्थापन गरि विजुली बाल्न सफल भएकोमा फाक्तेपवासीमा खुसीयाली छाएको हो ।
चार किलोमिटर टाढाबाट विद्युत ल्याएर १ सय ५४ घरपरीवार फाक्तेपवासीले बत्ती बाल्न सफल भएका हुन् । जिल्लाको दक्षिणी दुर्गम फाक्तेप गाविस–८ का नागरिकले आफ्नै लगानीमा बिद्युत बालेका हुन् । विजुलीले गाउँघर उज्यालिदा यहाँकाले नेता र सरकारको आस्वाशन पर्खेर बर्षौदेखि अध्यारोमा बस्नु परेको पिडा भूलेका छन् ।
अब बिद्युतजन्य घरेलु तथा साना उद्योग स्थापना गरेर स्वरोजगार सृजना गरी आर्थिक सुधारमा लाग्ने उनीहरुले बताएका छन् । स्थानिय केबी चेम्जोङले भने ,“ ३ वर्षको अवधिमा आफूहरुले गाउँमा वत्ति वाल्न सफल भएका छौ,हामी अत्यन्तै खुशी छौ,अव विदेश जाने यूवाजनशक्तिलाई समेत स्वदेशमै घरेलु उद्योगहरु संचालन गर्न सक्ने छन् जसले गर्दा विदैशिक यात्रामा जाने यूवाजनशक्तिमा समेत न्यूनीकरण आउनेछ,भन्ने हामीलाई विश्वास लागेको छ ।”
यस्तै अर्को स्थानिय टिकाहाङ चेम्जोङले भने,“फाक्तेप गाविस मात्रै नभएर छिमेकी सराङडाँडा गाविसको केहि भागका स्थानियले समेत यो वत्ति वाल्न पाएका छौ,अत्यन्तै हामी खुशि छौ,पहिलो यो आयोजना सफल हुँदैन् भनेर छिमेकीहरुले गिज्याउने गर्दथे तर हामी सवै लागेर आयोजना सफल पार्यौ ।” यस्तै त्यस ठाउँका अर्को स्थानिय पूर्ण कुमार लिम्वूले भन्नुभयो,“वत्ति नआउँदा टुकी वत्ति बालेर वस्नुपर्दथ्यो तर अहिले हामी उज्यालोमा वस्न पाएका छौ,हामीलाई धेरै राहात भएको छ ।”
इलाम–पाँचथर ३३ केभिए बिद्युत प्रसारण लाइनको राँके–रवी खण्डबाट फाक्तेपका नागरीकले बत्ती जडान गरेका हुन् ।पाँचथर सदरमुकाम फिदिममा २०३२ सालबाट जलविद्युत सञ्चालनमा आएपनि दुर्गम गाउँहरुमा अझै पनि विद्युत सेवा विस्तार हुन सकेको छैन ।२०६४ सालदेखि जिल्लाको केहि गाउँमा लद्यु जलबिद्युत आयोजना निर्माण भई सञ्चालनमा आइरहेका छन् । विद्युत प्राधिकरणले एक दशक अघिदेखि सदरमुकाम फिदिममा ३३ केभि केन्द्रीय विद्युत प्रशारण लाइन विस्तार गरेपनि पाँचथरमा करिब १३ हजार घरपरिवार विद्युत सेवाबाट अझैपनी बञ्चित छन् ।