वीरगञ्ज (पर्सा)। गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा देखिएको हैजाको प्रकोप नियन्त्रण गर्न र नागरिकको ज्यान बचाउन सरकारले अधिकतम प्रयास गर्ने बताएका छन्।
शनिबार राति नारायणी अस्पताल वीरगञ्जमा हैजा र झाडापखालाका बिरामीहरूको अवस्था बुझ्न पुगेका गृहमन्त्री लेखकले भने, “अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जे जति काम गर्नुपर्ने हो, सोहीअनुसार तयारी अवस्थामा छौँ।” उनले उपचारका लागि औषधि, चिकित्सक, नर्सिङ स्टाफ र अन्य जनशक्तिको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
गृहमन्त्री लेखकले अस्पतालमा उपचार गराइरहेका बिरामीहरू निको हुँदै गएको र बिरामीको सङ्ख्या पनि घट्दै गएको बताए। उनले हैजाको नियन्त्रणका लागि सबै पक्षसँग समन्वय र सहजीकरण गरिने जानकारी दिएका छन्।