arrow

लोपोन्मुख गाई र हलगोरु पाल्नेलाई अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
goru-.jpg

पर्वत। लोपोन्मुख अवस्थामा रहेका स्थानीय जातका गाई र हलगोरुको संरक्षण गर्न पर्वतको विहादी गाउँपालिकाले किसानलाई प्रोत्साहन अनुदान दिने भएको छ। वैदिक परम्परामा पूजा गरिने यी जनावरहरूको सङ्ख्या घट्दै गएपछि गाउँपालिकाले संरक्षण अभियान सुरु गरेको हो।

गाउँपालिकाले व्यावसायिक रूपमा उन्नत जातका गाई पाल्ने किसानलाई प्रतिगाई २० हजार रुपैयाँ उपलब्ध गराउनेछ। यस्तै, स्थानीय गाई संरक्षण अभियान अन्तर्गत प्रतिसुत्केरी गाई २ हजार ५०० रुपैयाँ वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिए।

यसैगरी, कृषि कार्यमा प्रयोग हुने हलगोरु पाल्ने किसानलाई पनि १० हजार रुपैयाँ प्रोत्साहन अनुदान प्रदान गरिनेछ।

गाउँपालिका अध्यक्ष परवीन गुरुङले स्थानीय गाई लोप हुँदै जाँदा धार्मिक परम्परामा समेत असर पर्न सक्ने भन्दै यो अभियानले किसानलाई गाईपालनतर्फ आकर्षित गर्न र यसको पहिचान जोगाउन मद्दत गर्ने बताए। यस कार्यक्रममा समावेश हुनका लागि गाई र बहर स्थानीय जातको नै हुनुपर्ने प्रावधान राखिएको छ।

जिल्लाका अन्य स्थानीय तहहरूले पनि यस्तै कृषि र पशुपालनका क्षेत्रमा लगानी बढाउँदै लगेका छन्। जस्तै, जलजला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिँदै आएको छ भने पैंयुँ गाउँपालिकाले राँगो पाल्ने किसानलाई वार्षिक २० हजार रुपैयाँ अनुदान दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ