arrow

बिदेशिनुको बेथा

दलालको फन्दामा तुहिँदै अमेरिकी सपना, चौध महिना झुलाएर चौसठ्ठी लाख ठगी

logo
नारायण वली,
प्रकाशित २०८२ भदौ १९ बिहिबार
gajenda oli-dalal-dang-1.jpg

लुम्बिनी । गरिबी, बेरोजगार, गन्तव्य देशको आकर्षण र छिमेकी तथा साथीभाइको लहलहैमा अवैधानिक रुपमा अमेरिका छिर्नु जोखिमपूर्ण भए पनि कयौँ नेपालीले ‘तल्लो बाटो’को यात्रामा आर्थिक र ज्यानको जोखिम मोल्दै आएका छन् । विशेषगरी करिब एक डेढ वर्षअघि पश्चिम नेपालको दाङमा अमेरिका छिर्ने अभियान जस्तै चलेको थियो । 

यसरी कानूनविपरीत अमेरिका प्रवेश गर्नेमा रुकुम पहिलो र दाङ दोस्रो स्थानमा रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाउँछ । अमेरिका छिर्न खोज्दा कैयन् युवा ठगीमा पर्दै आएको पाइएको छ । दलालको लहैलहैमा लागेर अमेरिका जान खोज्दा दाङको तुलसीपुरस्थित एक काष्ठ उद्योगमा कार्यरत चुर्न बहादुर बस्नेत बिचबाटोबाट फर्काइएको वर्ष दिन भइसकेको छ । उनी घर फर्किए पनि दलालले उनीबाट लिएको रकम फिर्ता गरेको छैन् ।

यसरी ‘तल्लो बाटो’ हुँदै अमेरिका जान खोज्दा उनी दुबईमा दुई महिना अड्किएका थिए । अमेरिकी सपनाले डोेरिएका उनीजस्तै अन्य ८/९ जना युवा थिए । दुबईमा राखेर उनीहरुलाई पुनः नयाँ दलालको हात समातेर अफ्रिका पुर्यायो ।

ती युवाहरुलाई अमेरिका पुर्‍याइदिने भन्दै दाङको दंगिशरण गाउँपालिका वडा न-७ बुटुन्नेका गजेन्द्र वलीले राजपुर गाउँपालिका वडा न-७ का चुर्नबहादुर बस्नेत र शेरबहादुर खड्कासँग ६४ लाख ४५ हजार रुपैयाँ उठाएको विभिन्न बैंकमा पैसा जम्मा गरिएका हाम्राकुरालाई प्राप्त भौचरले देखाएको छ ।

प्राप्त बैंकका भौचर अनुसार ज्योति विकास बैंकमा २०८० असार २७ गते चुर्न बहादुर बस्नेतले गजेन्द्र वलीको नाममा पाँच लाख रुपैयाँ, ०८० असोज ६ गते सान एग्रो कृषि फार्मको नाममा खाता रहेको ग्लोवल आइएमई बैंकमा बस्नेतले दश लाख पचास, ०८० असोज ९ गते ग्लोवल आइएमई बैंकमा गिरीराज भण्डारीको नाममा बस्नेतले चार लाख पचास हजार रुपैयाँ, ०८० कार्तिक २३ गते बस्नेतकी फुपु उर्मिला बस्नेतले गिरीराज भण्डारीको नाममा रहेको ज्योति विकास बैंकमा पाँच लाख रुपैयाँ, सान एग्रो कृषि फार्मको नाममा खाता रहेको ग्लोवल आईएमई बैंकमा ज्योति विकास बैंकबाट चुर्नको फुपु उर्मिलाले पुनः दश लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । 

विभिन्न मितिमा गरेर बस्नेतबाट गजेन्द्रले आफ्नो नामसहित अन्य नामका खाता नम्वर दिएर पैंतिस लाख रुपैयाँ उठाएको पीडित बस्नेत बताउँछन् । स्वदेशमै जागिरमा होमिएका युवालाई अमेरिकाको सपना देखाएर पैसा असुलेका एजेण्ट वली अहिले दुबईमा लुकेर बसेको बुझिएको छ ।

बस्नेत भन्छन्, ‘दाङमै जागिर गरेर बसेको थिएँ । मेरो उद्योगमा दैनिकजसो आएर गजेन्द्र सरले अमेरिका पुर्याउने सपना देखानुभयो र जाने भन्ने भयो । धेरै पुगिसके, नेपालमा के गरेर बस्ने भनेर फकाउनु भयो । उहाँका कुराले स्वदेशको काम छोडेर अमेरिका जाने भूत चढ्यो ।'

दलालमार्फत् अमेरिका जाने निधो गरेका बस्नेतका दुःखका दिन भने त्यहींबाट शुरु भए । उनलाई दलालले काठमाण्डौंबाट दुबईमा लगेर झुलाएको अनुभव छ । त्यतिमात्रै नभएर उनलाई दलालले अफ्रिकामा १० महिना बन्धक बनाएर राखेको तितो क्षण छ । नेपालमा बिस लाख असुलेका दलाल वलीले दुबई पुर्याएपछि १५ लाख रुपैयाँ लगेको बताउँदै बस्नेतले भने, 'दलालसँग पैसा फिर्ता माग्दा अब पक्का हुन्छ भन्थे । कहिले बाटोमा सेटिङ मिलाउन प्रयास गर्दैछु भन्थे । तर उनी ढाँटेर बसेको पछि थाहा भयो ।' 

ह्वाटसपमा कहिलेकाहीँ सम्पर्कमा आउने दलाल वलीले पटकपटक मिति तोक्दै पैसा दिन्छु भन्ने तर नदिने गरेको बताउँदै उनले चुप लागेर बस्न र धेरै चुरीफुरी गरेमा जे पनि हुन सक्ने भन्दै धम्की दिँदै आएको तथ्य सुरक्षित रहेको बताए ।

बस्नेत जस्तै अमेरिका पुग्ने चक्करमा दुई वर्ष जति समय खेर फाल्नुको साथै ठूलो धनराशी दलाललाई खुवाएका शेर बहादुर खड्काको पनि पीडा कम्तीको छैन । दलाली व्यवस्थाभित्रकै दलालहरुले एकपछि अर्कोले धेरै पैसा असुलेर झुलाउन थालेपछि अन्ततः अफ्रिकाबाट दुबई हुँदै आफुहरु घर फर्केको शेरबहादुर बताउँछन् । दलालहरुमध्ये गजेन्द्र वलीले उनलाई अमेरिका छिर्ने पुनः आशा दिलाएर अफ्रिकामा पुर्याउँदा बन्धक बनाएर राखेको दुखेसो पोखे ।

उनका अनुसार पैसा फस्यो भन्दै चुप लागेर बसेका भन्दा ऋणमाथि ऋण थोपरेर अमेरिका पुगेका धेरै छन् । देशमा बेरोजगारी समस्याले दैनिक विदेशिने जनशक्तिेको संख्या बढ्दै गएको छ । यस्तो अवस्थामा अमेरिका जाने इच्छा कसलाई नहोला र ? अमेरिका पुग्ने सपनामा थुप्रै नेपाली युवाहरु ठगिएका छन् । कतिपयको बिचबाटोमै मृत्यु समेत भएको छ । धेरै जेल पुगेका छन् । त्यही पनि नेपाली युवा जान छोडेका छैनन् । 

अमेरिका पुग्ने चक्करमा दुई वर्ष जति खेर फाल्नुको साथै उन्नतीस लाख ४५ हजार रुपैयाँ दलाललाई खुवाएका खड्काको पनि पीडा कम्तीको छैन । दलाली व्यवस्थाभित्रकै दलालहरुले एकपछि अर्कोले धेरै पैसा असुलेर झुलाउन थालेपछि आफुहरु घर फर्केको शेरबहादुर बताउँछन् । दलालहरुमध्ये गजेन्द्र वलीले उनलाई अमेरिका छिर्ने पुनः आशा दिलाएर अफ्रिकामा पुर्याउँदा बन्धक बनाएर राखेको दुखेसो पोखे ।

उनका अनुसार अमेरिका लैजाने भन्दै दाङका गजेन्द्र वली र उनका प्रमुख पार्टनर गजेन्द्रका साथी पुर्षोत्तम भट्टराईले सयौं नेपालीलाई ठग्दै आएको बताए । उनले भने, म एक पीडित मात्रै होइन, म जस्ता धेरै पीडित छन् । कति पैसा उठाउने ध्याउन्नमा लागे तर कतिपय दलाल  नेपालीलाई अमेरिका लैजान्छौं भन्दै प्रलोभनमा पारेर लाखौं लिएर बाटौमै अलपत्र परेका पनि थुप्रै उदाहरण छन् । पीडितहरुका अनुसार दलालहरुले अमेरिका लैजाने भन्दै ८ जनाबाट सरदर चालीस लाख रुपैयाँको दरले तीन करोड बिस लाखबढि रुपैयाँ उठाएको बताए । 

दलालको पन्जामा परेका ती युवा अहिले न अमेरिका छिर्न सकेका छन्, न नेपालमै केही गर्छु भन्ने जोसजाँगरमा छन् । अमेरिका लैजाने नाममा दलालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सेटिङ मिलाउने गरेका छन्, उनले भने, 'विमानस्थल, अध्यागमन, प्रहरीसँगै सेटिङ हुँदो रहेछ ।' तीन

आफू पनि काठमाडौंस्थित विमानस्थलमै ती दलालको सेटिङमा दुबई पुगेको उनले बताए । दुबई पुगेको दुई महिनासम्म बसेर दलालले फेरि अफ्रिकाको घानामा पुर्‍याएको बताए । उनका अनुसार भारत, दुबई, ब्राजिल र काजकिस्तान पुर्‍याएपछि ती दलालले धाक, धम्की र यातना दिएर पैसा असुल्ने गर्छन् । दलालहरु पेश्की भन्दै लाखौं लिएर सम्पर्कविहीन हुँदा आफू अप्ठ्यारोमा परेको सुनाउँदै अमेरिका पुग्न ५५ लाख रुपैयाँ लाग्ने दलालले बताएको सुनाए ।

पीडितका अनुसार उनीहरुले मागेअनुसारको पैसा बुझाउँदा दुबई पुर्‍याएपछि विभिन्न बहाना बनाउँदै गए । अमेरिका लान नसक्ने भए पासपोर्ट फिर्ता दिनु भन्दा प्रक्रिया हुँदैछ, किन हतारिएको, सेटिङ मिलिसकेको छैन, मिल्नेबित्तिकै पठाइहाल्छौं नि, शान्त बस्नुपर्छ भनेको उनी सम्झन्छन् । उनीहरुले भनेअनुसार कुरेको पनि हो, उनले भने, 'अब विदेश जान्न । मैले हालसम्म दिएको पैसा र पासपोर्ट फिर्ता माग्दा उल्टै गालीगलौज गरे । तँलाई यतै जिन्दगीभरि सडाइदिन्छौं । धेरै हल्ला नगर् भनी मलाई ज्यान मार्नेसमेत धम्की दिन थालेपछि मानसिक यातना सहँदा सहँदा मानसिक रुपमा समेत विक्षिप्त भएँ ।'

घरपरिवारलाई जानकारी गराई नेपालबाट पैसा मगाई दुबईको पुलिसमार्फत् ‘पुलिस रिपोर्ट’ बनाएर ट्राभल डकुमेन्टमा नेपाल फर्किएको सुनाए । अमेरिका पठाइदिने प्रलोभनमा दुबई र अफ्रिकामा बन्धक बनाएर मानसकि यानता दिएकोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम कारबाहीका लागि अब उजुरीसमेत हाल्ने सोँच बनाएको बताए । 

यी केही पात्र मात्र हुन् । यसरी ठगिने संख्या ठुलो छ । एजेन्टको प्रलोभनमा परी अमेरिका हिँडेका सोझासिधा व्यक्ति कतिपयको आधा बाटामै जीवन चुँडिने गरेको छ । यस्तै अमेरिकी सपनाले अफ्रिकामा त्यहाँका नागरिकको यातनामा बन्धक बनाइएको अवस्थामा तुलसीपुरका अन्दाजी ४० बर्षिय पुर्ण डाँगीको मृत्यु भएको रहस्य फेला परेको छ । उनी घरबाट हिँडेको तीन बर्षसम्म न अमेरिका पुगे, न घर फर्किए, बिच बाटोमै मृत्युवरण हुन पुगे । दलाललाई ८० लाख रुपैयाँ बुझाएका डाँगीलाई पठाउने एजेण्ट वली रहेको पीडित परिवार बताउँछ ।  

अमेरिका जाने सपनासँगै लाखौं रुपैयाँ डुब्न शुरुवाती चरणमै सुरु भइसकेको हुन्छ, तब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोर्डिङ पास लिएर दुबई लगायत विभिन्न देश उडेका हुन्छन् । नेपालको माटो छोड्ने बित्तिकै युवाहरु अमेरिका जाने सपनामा ठगिइसकेका हुन्छन्, मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अनुसन्धान अधिकृतले बताए । 

नेपालबाट अवैधानिक रुपमा विभिन्न मुलुक हुँदै अमेरिका पुर्‍याउने गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ । मानव तस्कर र तीनका दलालले नेपालीलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन् ।

४५ देखि करोड रुपैयाँसम्म लिएर अमेरिका पुर्‍याउने सपना बाँड्ने र अलपत्र पार्ने गरेको, यात्रा अवधिभर प्रायः घर परिवारसँग टेलिफोन सम्पर्क नहुने भएकाले आफ्नो परिवारका सदस्य कहाँ पुगिरहेका छन्, मरे कि बाँचे भन्नेसम्म थाहाँ नहुने अवस्था रहेको पीडितहरु बताउँछन् ।

भारतसँगको खुल्ला सिमाना, मानव तस्करीसम्बन्धी कानुनको अभाव, गन्तव्य देशको नीति, वैदेशिक रोजगारीमा बेथिति, कूटनीतिक पहलको कमी र अनियमित आप्रवासनका कारण मानव तस्करी भइरहेको मावन अधिकारीवादी गोविन्द खनालको भनाई छ ।

अवैधानिक रुपमा अमेरिका पुगी अमेरिकाबाट हालसम्म दुई सय भन्दाबढी नेपाली नागरिकलाई ‘डिपोर्ट’ गरिएको ब्युरोको तथ्यांक छ। अवैधानिक तवरले अमेरिका पुर्‍याउँछु भन्दै दलालमार्फत ठगिएका ५६ जना पीडितले ब्युरोमा उजुरी दिएका छन् भने १५ जना पीडकलाई ब्युरोले पक्राउसमेत गरिसकेको जनाइएको छ ।

यस विषयमा दलाल वलीले दिएको खाता नम्बरमा पैसा प्राप्त गर्ने तुलसीपुका गिरीराज भण्डारीलाई सम्पर्क गरी बुझ्न खोज्दा उनले यसकुरामा प्रवेश गर्ने बित्तिकै फोन काटे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ