arrow

सहिद दिवस मनाइँदै, सच्चा सहिद छायाँमा

पहिचानवादी आन्दोलनका सहिद हावी

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
sahidharu.jpeg
काठमाडौँ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आइतबार विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ ।
 
विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो ।
 
सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । 
 
राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । 
 
माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । 
 
महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आइतबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट बिहान ८ः१५ बजे प्रभातफेरी सुरु गरी ९ बजे लैनचौरस्थित सहिद स्मारकमा गएर विशेष कार्यक्रम गर्ने कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । 
 
प्रभातफेरीमा संवैधानिक निकायका प्रमुख एवम् सदस्य, मन्त्रीगणलगायत पनि सहभागी हुने उनले जानकारी दिए । ९ बजे लैनचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । 
 
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ । 
 
तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन । 
 
नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ । 
 
त्यसयता पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेको भए पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन । 
 
विसं २०४६ को जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग ग¥यो । 
 
मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ । 
 
कसलाई सहिद भन्ने र कसलाई नभन्ने भन्नेमा विवाद आउन थालेपछि सरकारले २०६२÷६३ सालको जनआन्दोलनपछि त्यसलाई व्यवस्थित गर्न दुई आयोग बनायो । 
 
तर त्यसको प्रतिवेदन हालसम्म पनि कार्यान्वयन भएको छैन । सरकारले नवराज सुवेदी र मोदनाथ प्रश्रितको संयोजकत्वमा सहिदको मापदण्ड बनाउन फरक फरक दुई आयोग बनायो । 
 
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पनि त्यसप्रति असन्तुष्टि जनाउँदै भएको आन्दोलनमा थुप्रै व्यक्तिले ज्यान गुमाइसकेका छन् । 
 
सरकारले पछिल्लो मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्न गठन गरेको आयोगले काम गरिरहेको छ । 
 
राणा शासनको विरोध गर्दा १९९७ मा फाँसी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ । 
 
गृह मन्त्रालयका अनुसार १९९७ मा चार, ०६२÷६३ को जनआन्दोलनमा मारिएका २५ जनासहित अन्य गरी ६८ जनालाई सहिद घोषणा गरिएको छ । 
 
त्यस्तै, तराई मधेस, थरुहट आन्दोलनका क्रममा मारिएका ४१ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित ५२ जनालाई पनि सहिद घोषणा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ