arrow

सरकारद्वारा अनधिकृत भीपीएन प्रयोग नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
ministry-communication-information.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनाधिकृत र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराएपछि त्यस्ता सञ्जाल चलाउन अनधिकृत उपायहरू प्रयोग नगर्न अनुरोध गरेको हो।

मन्त्रालयले भदौ २२ गतेदेखि सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय पारेको हो। यसअघि भदौ १२ गते सार्वजनिक सूचना जारी गरी सात दिनभित्र सूचीकरण गर्न सबै सामाजिक सञ्जाललाई आग्रह गरिएको थियो।

मन्त्रालयका अनुसार, हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी मात्र सूचीकरण भई नेपालमा सक्रिय छन्। निष्क्रिय गरिएपछि सामाजिक सञ्जाल एक्स (ट्विटर) र वीच्याटले पनि सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको र मन्त्रालयले सो विवरण उपलब्ध गराइसकेको छ।

मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका तर हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जालहरूलाई 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' अनुसार नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकेर सूचीकरण हुन पुनः आह्वान गरेको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, सूचीकरणका लागि कुनै शुल्क लाग्दैन र सूचीकरण भएपछि सोही क्षणदेखि सञ्जाल पुनः सक्रिय हुनेछ। मन्त्रालयले सामाजिक सञ्जाललाई निषेध वा नियन्त्रण नभई मर्यादित र जिम्मेवार बनाउन खोजेको स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ