arrow

ऐतिहासिक ‘जिब्रो छेड्ने जात्रा’ले पहिलोपटक गर्‍यो भक्तपुर नगर परिक्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
birendrabhakta-geju.jpg

काठमाडौँ । मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) ले इतिहासमा पहिलोपटक भक्तपुर नगरको परिक्रमा गरेको छ। यसवर्ष जिब्रो छेडाएका युवा वीरेन्द्रभक्त गजु श्रेष्ठको इच्छाअनुसार जात्रा भक्तपुर नगरपालिकामा अवस्थित दत्तात्रय र नवदुर्गाको दर्शन गरी नगर परिक्रमा गरेको हो।

मध्यपुरथिमिमा दुई प्रकारका जिब्रो छेड्ने जात्रा प्रचलनमा छन्:
बिस्काः जात्राको अवसरमा: प्रत्येक वर्ष वैशाख २ गते बोदेमा हुने, जहाँ एक जनाले मात्र जिब्रो छेडाउने र परिक्रमाको रुट निश्चित हुन्छ।
येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा: इन्द्रजात्राको भोलिपल्ट मनाइने, जसमा जिब्रो छेडाउने व्यक्ति एकभन्दा बढी हुन सक्छन् र परिक्रमाको रुट व्यक्ति स्वयंको इच्छामा निर्भर हुन्छ।

यस जात्राको इतिहासमा यसअघि जिब्रो छेडाएर काभ्रे पनौती, चाँगुनारायण र पशुपतिनाथसम्म यात्रा गरिएको भए पनि दत्तात्रय र नवदुर्गा मन्दिरको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरेको यो पहिलोपटक भएको पमानायो श्यामकाजी श्रेष्ठले जानकारी दिनुभयो।

पर्यटन र सरकारी सहयोग
यो जात्रालाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिँदै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले यस्तो साहसी कार्यलाई प्रोत्साहन गर्नुपर्ने बताए। बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले यो जात्राको संरक्षणका लागि प्रदेश सरकारले प्रत्येक वर्ष रु. २ लाख दिने निर्णय गरेको जानकारी गराए।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार, दिनभर मौन व्रत लिई, जिब्रो छेडेर ४० किलोभन्दा बढी वजनको महादीप बोक्दै घण्टौँसम्म खाली खुट्टा हिँड्नु आफैंमा एउटा दैवीशक्ति भएको बताए। उनले वीरेन्द्रभक्तजस्ता साहसी युवाहरूको प्रेरणाले यो जात्रालाई निरन्तरता दिन अन्य युवाहरू पनि तयार हुने विश्वास व्यक्त गरे।

जनश्रुतिअनुसार, परापूर्वकालमा भूतप्रेत र राक्षसले थिमिका जनतालाई दुःख दिन थालेपछि एक व्यक्तिले जिब्रो छेडाएर नगर परिक्रमा गराएपछि उनीहरू भागेका थिए। यही विश्वासमा यो जात्रा मनाइँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ