राष्ट्रपतिले प्रधानसेनापतिलाई भने – राजीनामा दिन्न, मलाई मारिदिनुहोस्
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
10.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कुनै हालतमा राजीनामा नदिने बताएका छन् । उनले आफ्नो ज्यान लिए पनि हुने तर राजीनामा दिएर मैदान छाडेर नभाग्ने अडान लिएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राजीनामा मागेको र राष्ट्रपति पौडेलले भने राजीनामा दिएर मैदान नछाड्ने बताएको वरिष्ठ पत्रकार किशोर नेपालले दाबी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत वरिष्ठ पत्रकार नेपालले भदौ २४ गते प्रधान सेनापतिले राष्ट्रपति पौडेलसँग राजीनामा माग गरेको जनाएका हुन् ।
उनले एक्समा बुधबार लेखेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजीनामा दिने’ आग्रहगर्दै भनेछन्, ‘बाँकी हामी सम्हाल्छौँ ।’ राष्ट्रपतिको जवाफ थियो : म राजीनामा दिन्न । बरुतपाईंहरु मलाइ मारिदिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस् ।’