arrow

कैदीबन्दीको आउजाउ

जेन–जी आन्दोलनको मौका छोपेर जेलबाट कति भागे ? कति फर्किए ? 

कसले लियो जेलबाट छुटाएको भन्दै क्रेडिट ? भोग्ला त सजाय ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
nakkhu-karagar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जेन–जी आन्दोलनको मौका छोपेर विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका १३ हजार ७७९ व्यक्ति विभिन्न कारागारबाट भागेको सरकारी तथ्याङ्कले देखाएको छ । 

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले १३ हजार ७७९ जना भागेको पाइएको जानकारी दिए । उनले विभिन्न २६ कारागार र बालसुधार गृहबाट उक्त संख्यामा भागेको बताए । 

जसमा कारागारबाट भाग्नेहरू १२ हजार ८१४ तथा बालसुधार गृहबाट ९६५ जना हुन् । अहिलेसम्म दुई हजार ५०० को हाराहारीमा मात्र फर्केको तथ्याङ्क टिपोट गर्न सकिएको जानकारी दिए । 

शनिबार थप तथ्याङ्क लिन नपाएकाले अब आइतबार दिउँसोमात्र यसको थप विवरण आउने उनले बताए । 

त्यसैगरी कारागारमा भएको झडपमा ३ जनाको, बालसुधार गृहमा ५ जनाको र एक जनाले आत्महत्या गरेकोसमेत गरी ९ जनाको मृत्यु भएको छ । 

आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको सूचना अधिकारी जोशीले बताए । 

कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरेसँगै फर्कने क्रम चलिरहेको उनले बताए । 

उनले जिल्ला प्रशासन कार्यालयले पनि समन्वय गरिरहेकाले फर्कनेको संख्या आइतबार दिउँसोसम्म उल्लेख्यमात्रामा बढ्ने बताए । 

सीमाबाटसमेत केहीलाई पक्राउ गरिएको छ । यसबाट के खुल्छ भने धेरैको संख्यामा कैदीबन्दी भारतमा भागेका छन् । 

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भने भागेका १३ हजार ११४ जनाको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा ११ हजार ८६८ जना अझै फरार रहेकोसमेत उल्लेख गरिएको छ । 

जेलबाट छुटाएको भन्दै क्रेडिट लिइँदै
सामाजिक सञ्जालमा अहिले जेलबाट छुटाउन मद्धत गरेको भन्दै क्रेडिट लिने क्रम केही दिनसम्म चल्यो । अहिले भने यो क्रम रोकिएको छ । 

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेलबाट छुटाउन मद्धत गरेको भन्दै ०८४ को चुनावमा रास्वपालाई जिताउनु पर्छ भनेर भोट मागेको तथा भगुवा कैदीहरूले पनि हुन्छ भनेका टिकटक भिडियो छ्यास्छ्यास्ती पाइए । 

अन्तरिम सरकारले भने चुनाव ०८४ मा हैन यसैसाल फागुनमा गर्ने निर्णय गरेको छ । 

रास्वपाका सभापति रवि लामिछानेले कैदीबन्दीलाई छुटाएकोसमेत उनीहरूले भन्न भ्याएका थिए । यद्यपि रास्वपाले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

हो भने स्वीकार गरोस् र हैन भने त्यसको छानबिन होस् । तर अन्य दलका कार्यकर्तालाई पक्कै पनि रास्वपाको किन नै पो प्रचार गर्नुपर्ने हुन्छ र भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै पढ्न पाइन्छ ।

रवि आफैँ छुटेको कागजात झुटो 
रवि आफैँ सहकारी ठगी र संगठित अपराधमा नक्खु काराबासमा रहेका थिए । उनी पनि मंगलबार छुटे ।  उनलाई गृहसचिवले नै पत्र काटेर सुरक्षा दिन नसकिएकाले भनेर जेलबाट सुरक्षित रहन भन्दै उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएको बताइएको थियो । कागजात रविले सार्वजनिक गरेका थिए । 

तर अहिले आएर त्यो कागज नै झुटो भएको खुलेको छ । 

पुर्पक्षका लागि थुनामा पुगेका रवि २४ गते दलबलसहित जेलबाट बाहिरिएका थिए । नख्खु जेलबाट भीडभाडसहित एउटा गाडीमा निस्किएका उनी बाटैभरी हात हल्लाउँदै पार्टी कार्यालयसम्म पुगेका थिए । 

रवि निस्किएपछि नख्खु जेलबाट बाँकी सबै कैदीबन्दी पनि निस्किएका थिए । त्यसको प्रभाव देशैभरका कारागारसम्म पुग्यो । त्यसपछि देशैभरका कारागारबाट १४ हजार हाराहारीमा कैदीबन्दी फरार भएका थिए  ।  यसको यकिन तथ्यांक अझै आएको छैन ।

त्यसपछि भने रविको चर्को आलोचना हुन थाल्यो । उनी प्रतिक्रिया दिन बाध्य भए । सोही दिन साँझ फेसबुक लाइभमा आउँदै उनले आफूलाई प्रक्रिया पुर्‍याएर कारागारले नै छाडेको दाबी गरे । त्यसको पुष्टि गर्न एउटा पत्र पनि सार्वजनिक गरे ।  

नख्खु कारागार कार्यालयको ‘लेटर हेड’मा जारी गरिएको पत्रको विषय ‘जो जससँग सम्बन्ध छ’ भनेर उल्लेख गरिएको थियो। ‘देशमा अमनचयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनु भएका मा.(माननीय) रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ,’ पत्रको व्यहोरामा भनिएको छ, ‘मुद्दा फिर्ता गर्ने कानूनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णायानुसार जानकारी गराइन्छ ।’ यस्तै ‘मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. लामिछानेले रिहा हुन मन्जुर गर्नु भएको श्रीमान् गृह सचिवज्यूको आदेशानुसार व्यहोरा अनुरोध छ’ भनेर पनि पत्रमा उल्लेख छ।  

पत्र कारागार प्रशासक सत्यराज जोशीद्वारा जारी गरेको भनेर हस्ताक्षर छ। जसको बोधार्थमा काठमाडौँ जिल्ला अदालत, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी बल नं. २१ गण र प्रतिवादी सुरेन्द्र राईलाई राखिएको छ।  

के यसरी लेख्न मिल्ला र ? आश्चर्यमा पार्ने यो पत्रको आधिकारिकताबारे शुक्रबार नख्खु कारागार प्रशासनले पत्रको व्यहोरा मात्र नभई हस्ताक्षर पनि नक्कली भएको प्रतिक्रिया दिएको छ । 

कारागारले गर्यो अपील

नक्खु कारागार प्रशासनले यही भदौ २४ गते जेन-जी आन्दोलनको फाइदा उठाउँदै कारागार परिसरबाट फरार भएका सम्पूर्ण कैदीबन्दीलाई तुरुन्त सम्पर्कमा आउन अपील गरेको छ । फरार कैदीबन्दीलाई अविलम्ब उपस्थित भई प्रचलित कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न अपील गरिएको छ । 

कारागार प्रशासनले शुक्रबार जारी गरेको सार्वजनिक अपीलमा फरार अवस्थाको निरन्तरता रहँदा कानूनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी दिँदै भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने उल्लेख गरेको छ । 

“विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीलाई यसै सूचनामार्फत औपचारिक रूपमा अपील गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले सम्पर्कमा आउने कैदीबन्दीको हकहितको रक्षा गर्दै कानूनी प्रावधानअनुसार पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यसैबीच, सम्पर्क हुन नआएका कैदीबन्दीमाथि कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने जनाइएको छ ।

रविको हकमा के हुन्छ कारागारले स्पष्ट बोलेको छैन । गृह सचिवले पनि केही बोलेका छैनन् । के यसको छिनोफानो अन्तरिम सरकारले नै गर्ने होला त ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ