भागेका कैदीबन्दीबारे इन्सेकले दियो तथ्याङ्क, १२ हजार सम्पर्क बाहिर [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
670
Shares
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा देशभरका जेलबाट १३ हजार ११४ कैदी बन्दी फरार भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संकलन गरेको विवरण अनुसार भागेकामध्ये १ हजार २९८ जना नियन्त्रण र सम्पर्कमा आएका छन् भने ११ हजार ८६८ कैदीबन्दी अझै फरार छन् ।
जेन–जी आन्दोलन चलिरहँदा जेलबाट भाग्ने क्रममा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते छन् । कैदीबन्दी फरार भएका कारागार र बाल सुधार गृहमा रहेका १६ हजार ७९७ जनामध्ये अहिले ४ हजार ८९५ मात्र कैदमा रहेको इन्सेकले जनाएको छ ।
इन्सेकले विभिन्न जिल्लाका प्रतिनिधिले पठाएको रिपोर्टका आधारमा तयार पारिएको विस्तृत विवरण शुक्रवार सार्वजनिक गरेको हो ।
जसअनुसार सबैभन्दा बढी केन्द्र्रीय काराबारबाट ३ हजार ४५० जना फरार भएकामा २५० जनामात्र फर्किएका छन् ।
यता नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले अहिलेसम्म १५ सय भन्दा बढी कैदीबन्दीलाई कारागारमा फर्काइएको बताएका छन् ।
उनले आज पनि कैदीबन्दी फर्किने र पक्राउ गरी ल्याउने क्रम जारी रहेकाले त्यो संख्या बढेको जानकारी दिएका छन् ।
जेन–जी आन्दोलनका कारण कैदीबन्दीलेसमेत विद्रोह गरेर जेलबाट भागेका थिए । यकिन तथ्याङ्क नभए पनि १४ हजारको संख्यामा कैदीबन्दी भागेको डीआईजी घिमिरेले बताए ।
जेन–जी आन्दोलनका कारण हत्यारा, बलात्कारी लगायतका जघन्य अपराधीसमेत बाहिरिएकाले तिनीहरुले फेरि जघन्य अपराधको कुकर्म गरेकोसमेत पाइएको छ ।
डीआईजी घिमिरेले कैदीबन्दीहरुको खोजी क्रम जारी रहेको बताएका छन् ।
केही कैदीबन्दीले जेलबाट बाहिरिन मानेका थिएनन् भने वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिका भने बाहिरिन सकेका थिएनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्यस्ता भागेका कैदीबन्दीलाई धमाधम पक्राउ गरिरहेको छ ।