गुल्मी। लगातारको वर्षाका कारण अवरुद्ध भएका कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार, कालीगण्डकी करिडोरको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२, राक्सेमा पहिरो खसेपछि बुधबारदेखि सडक अवरुद्ध भएको थियो। आज बिहान पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
त्यस्तै, मदनभण्डारी राजमार्ग पनि आज बिहानबाट खुल्ला भएको छ। यो राजमार्गको रिडी–तम्घासखण्डमा पर्ने रुरुक्षेत्र गाउँपालिका–३, सल्लेरीमा पहिरो जाँदा बुधबारदेखि अवरुद्ध बनेको थियो। सडक सञ्चालनमा आएसँगै रोकिएका यात्रुहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।
जिल्लामा तीन दिनदेखि लगातार भइरहेको वर्षा आज बिहान रोकिएको छ। जिल्ला प्रशासन कार्यालयले पहिरोग्रस्त र खोला तटीय क्षेत्रका बासिन्दालाई विपद्को जोखिमबाट सचेत रहन आग्रह गरेको छ।