arrow

गाउँघरमा सिंहदरबार तर बस्ती उजाड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
Ramechhap-hamrakura.jpg.jpeg

मन्थली (रामेछाप)। रामेछापका ग्रामीण बस्तीहरू मानिसविहीन हुँदै गएका छन्। गाउँमै सिंहदरबार भनिए पनि पर्याप्त रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभावमा यहाँका मानिसहरू बसाइँ सर्ने क्रम नरोकिएको हो।

जिल्लाका आठवटै स्थानीय तहका ग्रामीण क्षेत्रमा रहेका घरहरू खाली हुँदै गएका छन्। यसको एउटा उदाहरण मन्थली नगरपालिका-८ को चिसापानी गाउँ हो, जहाँ अधिकांश घरहरूमा मानिस बस्दैनन्।

स्थानीयहरूका अनुसार, बसाइँ सर्नुका मुख्य कारणहरूमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव तथा रोजगारीको अवसर नहुनु नै हो। चाडपर्व र विशेष कार्यक्रममा मात्र मानिसहरू गाउँमा भेला हुन्छन्। चिसापानीकी स्थानीय केशरी श्रेष्ठले पहिले खानेपानीको अभावले मानिसहरू गाउँ छोड्ने गरे पनि अहिले शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पूरै परिवार बसाइँ सरेको बताइन्।

उनले खेतीबाट राम्रो आम्दानी नहुने र बाँदरले बालीनाली नष्ट गरिदिने समस्याले पनि मानिसहरू गाउँमा बस्न नचाहेको बताइन्। मन्थली–८ का निवर्तमान वडाध्यक्ष राजकुमार श्रेष्ठले गाउँमा मलामी र जन्ती जाने मान्छे पनि पाउन गाह्रो भएको बताए।

वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको कमीले गर्दा मानिसहरू सहर पसेका छन्। उनले गाउँमा होमस्टे र सीपमूलक तालिम चलाइए पनि मानिसहरूको बसाइँसराइ कम नभएको स्वीकारे।

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सङ्घीयताले गाउँमै सबै सुविधा दिने भनिए पनि आधारभूत आवश्यकता पूरा हुन नसक्दा मानिसहरूले गाउँ छोड्नुपरेको बताए। उनले वैदेशिक रोजगारीमा गएकाहरूका परिवार गाउँमा नबसी छोराछोरी पढाउन सहर वा सदरमुकाममा बस्ने गरेकाले पनि गाउँहरू खाली हुँदै गएको बताए।

मन्थली माविका पूर्व प्रधानाध्यापक तथा नागरिक अगुवा गुञ्जबहादुर श्रेष्ठले सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने, स्वरोजगारमूलक कार्यक्रम ल्याउने र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न सके मात्र बसाइँसराइ रोक्न सकिने सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ