एकथरीले राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोज्दैछन् : प्रचण्ड
प्रकाशित २०७३ माघ १८ मंगलबार
1.1k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध योङ्ग कम्युनिष्ट लीग, नेपाल वाइसिएलको एकता भेलालाई सम्बोधन गर्दै दाहालले देशमा दक्षिणपन्थी हावा चल्न थालेको बताएका हुन् ।
एकता भेलामा दाहालले भने, ‘युवाहरुको नेतृत्व र सहभागितामा देशमा निकै ठूलो युद्ध चल्यो । जनयुद्धले देशमा गणतन्त्र, धर्मनिरेपक्षता, संघीयता, समावेशी शासन प्रणाली, सामाजिक न्यायजस्ता ठूला राजनीतिक मुद्दाहरु जन्मायो । फेरी जनयुद्धले जन्माएका मुद्दाहरु उल्टाउन प्रतिगामी सोंच र मनोविज्ञान भएका शक्तिहरु लागिपरेका छन् । हामी हिमाड, पहाड र तराईबीच भावनात्मक एकता पैदा गरेर राष्ट्रिय एकता हासिल गर्ने प्रयासमा छौं ।’
दाहालले अगाडि थपे, ‘एकथरी शक्तिहरु राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोज्दैछन् । अन्धराष्ट्रवादको वकालत गरेर, सामन्ती तत्वसँग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने, संघीयता लागु हुनै नदिने, धर्मनिरपेक्षता खारेज गराउने प्रपञ्चमा छन् । तर, जनताको जागरणसामू त्यो किमार्थ सम्भव छैन ।’
दाहालले भने, ‘वास्तविक राष्ट्रवाद त्यो हो, जसले हिमाल, पहाड र तराईलाई जोड्छ । वास्तविक राष्ट्रवाद त्यो हो, जसले सबै जाति, भाषा, संस्कृति, सभ्यता र समुदायको सम्मान र समानताको वकालत गर्दछ । एउटा भाषा वा समुदायको प्रतिनिधित्व गर्ने, हिमाल र पहाडलाई भड्काएर एक–अर्काका विरुद्ध उभ्याउने सोंच राष्ट्रवादी सोंच हुन सक्दैन । माओवादी नक्कली राष्ट्रवादको पक्षमा होइन, जनताको आत्मिक एकतासहितको राष्ट्रिय एकताको पक्षमा छ ।’
जनयुद्धद्वारा स्थापित राजनीतिक अधिकार जोगाउन युवाहरुले नयाँ संकल्प गर्नुपर्ने दाहालले बताए । दाहालले भने, ‘हामीले नयाँ संकल्प गर्नुछ, जनयुद्धले स्थापित गरेका मुद्दाको रक्षा गर्नुछ, विभाजित माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नुछ, शक्तिशाली बनाउनुपर्छ । त्यसका लागि तपाई युवाहरुले नयाँ संकल्प गर्नुहास्, फेरि एकपटक व्यक्तिगत स्वार्थ र सङ्किर्णताका घेरा तोड्नुस् र मानव जातिको हितका लागि आफूलाई उभ्याउनुस् ।’
सरकार स्थानीय निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ । छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ । राष्ट्रिय एकता कायम गरेर निर्वाचनमा जानुको हामीसँग अर्को बिकल्प छैन । त्यसका लागि तपाईहरु पनि जनताको घर–आँगनमा जाने कार्यक्रम बनाउनुस् ।’ भेलामा माओवादी केन्द्रका नेता मणि थापा, रामचन्द्र शर्मा ‘विज्ञान’ लगायतका वक्ताहरुले युवाहरुको दवावले मात्रै परिवर्तनका मुद्दाहरुको रक्षा गर्न सकिने धारणा राखे ।