साउदीको जेलबाट छुटेका ११ नेपालीले सिंहदरबार पुगेर प्रचण्डलाई के भने ?
प्रकाशित २०७३ माघ १८ मंगलबार
2.1k
Shares
काठमाडौं । विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीले मंगलबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका एघार नेपालीहरुले प्रधानमन्त्री दाहालसँग भेट गरी नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिँदै सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै सरकारसँग सहयोगका लागि अनुरोध गरेका छन् ।
कामका लागि साउदी गएका उनीहरुमाथि भारतीय नागरिकको हत्या अभियोग लागेको थियो । करिब साढे पाँच वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूताबासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा पीडित भीमप्रसाद चिमरियाले भने, ‘हामी कामका लागि सात वर्षअघि साउदी गएका थियौं । भारतीय नागरिकको हत्या अभियोगमा हामीलाई जेलमा हालियो । अनुसन्धानका क्रममा हामीमाथि चर्को मानसिक र शारीरिक यातना दिइयो । पाँच वर्षपछि हामी निर्दोष सावित भयौं । दुतावासका कर्मचारीले बेलैमा पहल गरेको भए हामी १–२ महिनामै छुट्न सक्थ्यौं । तर, कर्मचारीको लापरवाहीले बिनाकारण सात वर्ष जेल बस्नुपर्यो । जेलबाट छुटेपछि नेपाल ल्याउन प्रधानमन्त्री कार्यालयले गरेको सहयोगका लागि आभारी छौं । तर, अब सरकारले हाम्रो परिवारको जीवन रक्षाका लागि भए पनि केही राहत उपलब्ध गराउने आशा गरेका छौं ।’
जेलबाट छुटेका नेपालीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘तपाईहरुको कुरा सुन्दा निकै दुःख लाग्यो । बिदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरु छन् । मेरो नेतृत्वमा सरकार बनेपछि मैले बिदेशमा रहेका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु । बिदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनि टाट पल्टिएर बेरोजगार भएका नेपालीहरुको उद्दार, विदेशमा काम गर्ने नेपालीहरुका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था त्यसैका लागि गरिएको हो ।’
प्रधानन्त्रीले अगाडि थपे, ‘तपाईहरुलाई राहत उपलब्ध गराउन सरकार सकारात्मक छ, यसबारे म आवश्यक कुरा गर्छु । तपाईहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस हुनेछ । कर्मचारीको लापरवाहीका कारण तपाईहरुले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ । साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।’
सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा क्रममा पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।