पर्वत। गत शनिबार रातिको भारी वर्षाका कारण गएको पहिरोले पर्वतको फलेवास नगरपालिका–८, ठानामौला खाल्टेका ६ वटा घर पूर्ण रूपमा भत्किएका छन् भने १० वटा घर उच्च जोखिममा परेका छन्।
वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार, मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर तथा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरो जानुअघि नै जमिनमा चिरा पर्न थालेपछि स्थानीय बासिन्दा र उनीहरूका पशुचौपायालाई सुरक्षित स्थानमा सारिएकोले कुनै मानवीय वा पशुधनको क्षति भने भएको छैन।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रबिन विष्टले विस्थापित परिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा टेन्ट टाँगेर अस्थायी बसोबासको व्यवस्था गरिएको जानकारी दिए।
स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेका छन्। फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले विस्थापित परिवारलाई पाँचवटा टेन्ट उपलब्ध गराइएको र उनीहरूको पुनर्स्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।