arrow

ओझेलमा ऐतिहासिक नर्वदेश्वर महादेव मन्दिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
narmadeshwor-temple-ramechhap.jpg

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ को सुनकोशी र तामाकोशी नदीको संगम स्थलस्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर प्रचार प्रसारको अभावले ओझोल परेको छ ।

उक्त महादेव मन्दिर निक्कै पुरानो भए पनि उचित प्रचार र व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको हो । 

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा यो महादेव मन्दिरमा पाठपूजा गरेको बताइन्छ ।

सिन्धुलीगढीको लडाइँमा रामेछापको मुगिटारका रामचन्द्र प्रसाईँले पृथ्वीनारायण शाहका सेनालाई द्रव्य र राशनपानी सहयोग गरेकाले प्रसाईँकै माग अनुसार महादेव मन्दिरको नाममा पृथ्वीनारायण शाहले मुगिटारको खेत, सान्ने र अमारेलगायत क्षेत्रको बारी गुठी बनाइदिएको बताइएको छ ।

त्यसको लिखत अहिले पनि सुरक्षित रहेको स्थानीय आग्रजहरूको भनाइ छ । 

गुठीको जग्गाको धानले पुजारी तथा गाई हेर्ने र मन्दिरको रखवारी गर्ने टहलुवालाई ज्याला दिने गरिएको छ । त्यही धानको पराल मन्दिरमा पालिएका गाईलाई खुवाउने गरिन्छ । 

अहिले मन्दिरमा पुजारी नहुँदा नियमित पूजामा नै समस्या भएको मन्दिरका टहलुवा गोपाल माझी बताउँछन् ।

‘मन्दिरमा पुजारी छैनन्, मैले नै दैनिक पूजा गर्ने गरेको छु, पुजारी भइदिए राम्रो हुन्थ्यो’, उनले भने । 

दुई वर्षअघि पुरातत्त्व विभागले पुरातात्विक हिसाबले मन्दिर निर्माण गरिदिएको भए पनि मन्दिरसँग रहेको कुटी र पाटी जीर्ण बनेका छन् । त्यसको मर्मतमा राज्यको ध्यान पुगेको छैन । 

त्रिवेणी मन्दिर नजिकै सुनकोशी नदीमा अहिले सुनकोशी-मरिण डाइभर्सनको ड्याम बन्दै छ । सो ड्याम बनेपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या बढ्ने छ ।

यसले यो मन्दिरको महत्वलाई अझ बढाउने देखिन्छ । यसका लागि मन्दिर र संरचनाको व्यवस्थापन र संरक्षण भने ध्यान दिन आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ