रोल्पा । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गलत इन्ट्रेस्ट लिएर आफ्नो कोठामा कोहीपनि नपसिदिन हरेक रोल्पालीलाई अनुरोध गरेका छन् । उद्योग बाणिज्य संघ रोल्पाले आयोजना गरेको प्रजिअ डा.भट्राईको स्वागत तथा भेटघाट कार्यक्रमका अवसरमा उनले यस्तो अनुरोध गरेका हुन् ।
भट्टराईले रोल्पाली जनता तर्फ ईगित गर्दै भने– तपाइहरु ड्राइभर हो हामी मेसिनरी हौं । तपाइले सही दिसा निर्देश गरेमा हामी सकारात्मक दिशामा सदा अग्रसर रहनेछौं तर तपाई गलत इन्ट्रेस्ट लिएर आउनु भयो भने हामीलाई काम गर्न असहज हुनेछ । उनले जिल्लामा रहँदा सम्म सुशासन कायम गर्दै नियम कानूनको परिधिभित्र रहेर मात्र गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे। मन्तब्यका क्रममा डा. भट्टराईले भने“म हरेक रोल्पालीको ह्रृदयमा बसेर यहाँबाट बिदा हुनेछु त्यसका लागि तपाइको सकारात्मक साथ र सहयोगको मलाई सधैं खाँचो रहने छ । ”
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले जिल्लाको विकास निर्माणमा सबैको ऐक्यबद्धता रहदै आएको बताउदै सरोकारवालाहरुको सदैव सकारात्मक भूमिका भएमा आफूहरुले जिल्लाको विकासमा केही गर्नसक्ने बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रमुख जिल्ला अधिकारी सिंगो जिल्लाको अभिभावक भएको हुँदा सबै रोल्पाली जनतासंग समान ब्यवहार गर्नुपर्ने तथा कुनै पार्टी विशेषको फ्रेम बन्न नहुने सुझाव दिएका थिए ।