बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
993
Shares
बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका वडा नं. ९, हात्तीसार बस्ने ४२ वर्षीया सीता खत्री को हात्तीको आक्रमणबाट ज्यान गएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले दिएको जानकारीअनुसार, शनिबार राती करिब ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो। खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको हो।
मृतक खत्रीका श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन्। उनीहरूको तीन छोरी र एक छोरा रहेका छन्।
विशेष गरी धान पाक्ने सिजनमा जंगली हात्तीहरू किसानको खेतमा धान खान आउने र हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ। यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं. २, बलातीमा ७१ वर्षीय बोलीराम थारूको पनि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। मृतक खत्रीको शवलाई आज पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ।