काठमाडौं। एसिया कप क्रिकेटको फाइनल भिडन्तमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै भारतले उपाधि उचालेको छ। युएईमा गएराति भएको रोमाञ्चक खेलमा भारतले उत्कृष्ट प्रदर्शन गरेको हो।
टस जितेर भारतले सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको थियो। पाकिस्तानले १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै १४६ रन बनाएर भारतलाई १४७ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले आक्रामक सुरुवात गरे पनि पछिल्लो क्रममा ब्याटिङ सम्हाल्न नसक्दा सस्तैमा समेटियो।
१४७ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै जित हासिल गर्यो। भारतको जितमा युवा ब्याट्सम्यान तिलक बर्मा ले महत्त्वपूर्ण भूमिका खेले। उनले ५३ बलको सामना गर्दै नटआउट ६९ रनको अर्धशतकीय इनिङ खेले, जसले टिमलाई उपाधिसम्म पुर्यायो।