पर्वत कारागारबाट फरार आठ कैदीबन्दीलाई एक साताभित्र फर्किन निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
907
Shares
पर्वत । जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले उनीहरूलाई एक साताभित्र फर्किन निर्देशन दिएको छ। कारागारबाट भागेका कुल १९ जनामध्ये ११ जना फर्किए पनि आठ जना अझै सम्पर्कविहीन रहेकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सूचना जारी गरी फर्किन निर्देशन दिएको हो।
कार्यदलले आइतबार सार्वजनिक सूचना जारी गर्दै यही असोज २० गतेभित्र कारागार फर्किन अल्टिमेटम दिएको छ। तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला कारागारका जेलर नवीन सुवेदीले दिएको जानकारीअनुसार, सम्पर्कविहीन रहेकाहरूमा जबरर्जस्ती करणी मद्दाका टेकबहादुर रानामगर (बर्दिया घर भई कुश्मा नपा-७ बस्ने), कर्तव्य ज्यान मुद्दाका खेम थापा (पैंँयू गाउँपालिका-३), जबरर्जस्ती करणी मुद्दाका थुनुवा वसन्त विक (विहादी गाउँपालिका-६), सहकारी ठगी मुद्दाका थुनुवा अनिल थापा (फलेवास नगरपालिका-२) र विष्णु तिवारी (फलेवास नगरपालिका-३) रहेका छन्। यसैगरी, विहादी-३ रानीपानी घर भई कुश्माबजार बस्ने राजु शर्मा, गोरखाको अजिरकोट गाउँपालिका-५ घर भई जबरर्जस्ती करणी मुद्दाका दीपक विक र जलजला गाउँपालिका-७ बाँस्कोटका जबरर्जस्ती करणी मुद्दाका थुनुवा समुद्र केसी पनि अझैसम्म सम्पर्कमा नआएका उनले बताए।
कार्यदलले सार्वजनिक सूचनामार्फत फरार कैदीहरूलाई देखेमा वा उनीहरूको बारेमा कुनै जानकारी भएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। फरार व्यक्तिलाई लुकाउने, छिपाउने, वा सहयोग गर्ने कार्य गैरकानुनी हुने भन्दै त्यसप्रति पनि सचेत हुन आग्रह गरिएको छ। सूचना दिने व्यक्तिको नाम र पहिचान गोप्य राखिने जनाइएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फरार कैदीबन्दी फर्काउन आवश्यक समन्वय र सहकार्यका लागि सबैसँग अनुरोध गरिएको बताए।