आज महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
918
Shares
काठमाडौँ। नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी का दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला हुँदैछ। यो मन्दिर वर्षमा एक पटक मात्र आजको दिन पूजाआजा एवं दर्शनका लागि खुला गर्ने परम्परा छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको यो मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने सबै तयारी पूरा भएको जानकारी दिएका छन्।
तलेजु भवानीलाई भने फूलपातीकै दिन (सोमबार) हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। उनलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ।
मूलचोकमै महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको थियो। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले गरिएको यस पूजामा ५४ बोका र ५४ राँगाको बलि दिइएको जनाइएको छ।