arrow

परम्परागत खःमेय् व्वाकेगु जात्रा मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
jatra-bhaktapur.jpg

भक्तपुर । महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा बुधबार मनाइँदैछ ।

यहाँ खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुनेहुँदा त्यस रूपमा महिषासुर ‘बध’ गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाउँदै आइएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा द्योःछें(देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकालर दौडाउने र ब्रम्हायणी पीठसम्म पुर्‍याइने गरिन्छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई दुई चक्करसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिँङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, १०० धारनी तौल भएको मोटोघाटो राँगो चाहिने मान्यता छ ।

खःमेय्को ससाना मासुका टुक्रा प्रसादका रूपमा घरलगी सुकुटी बनाउने र धुलो पारेर घ्युमा मुछी धूप बनाइन्छ ।

उक्त धूप लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ