arrow

गिरानचौरमा अर्को एकीकृत बस्तीको शिलान्यास

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
Giranchaur-settlement_Dhurmus-Suntali-Foundation.jpeg
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ गिरानचौरमा सामुदायिक स्थायी एकीकृत नमुना बस्ती निर्माण हुने भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्दराज पोखरेलले बस्ती निर्माणका लागि शिलान्यास गरे । 
 
गिरानचौरमा अब बन्न लागेको एकसय ५० वटा भूकम्प प्रतिरोधात्मक भवन धुर्मुस–सुन्तलीले यसअघि यही स्थानमा निर्माण गरेपछिको देशकै ठूलो बस्ती विस्तार योजना हो । 
 
शिलान्यासका क्रममा गिरानचौर पुगेका पोखरेलले अबको भावी पुस्ताले भूकम्पपश्चात् बन्ने एकीकृत बस्ती विस्तार योजनाले देशको नै चिनारी राख्ने बताए । 
 
एकीकृत नमुना बस्ती विस्तारको पथप्रदर्शक कलाकार धुर्मुस र सुन्तलीले जस्तै यो सामुदायिक एकीकृत बस्ती पनि उदाहरणीय हुने पोखरेलले बताए । 
 
पुनर्निर्माणको कार्यमा गिरानचौरमा निर्माण हुन लागेको बस्ती देशका लागि सन्देशमूलक कार्य भएकाले सबै स्थानीय मिलेर पुनर्निर्माणमा अगाडि बढ्न र एकसाथ जुट्न उनले प्रेरित गरे । 
 
प्रमुख पोखरेलले विकासका पूर्वाधारलाई प्रयोग गरी सबै मिलेर आवास निर्माणमा लागे पुनर्निर्माण सम्भव रहेको भन्दै स्थानीयवासी मिलेर निर्माणमा अग्रसर भए सरकारले सक्दोे सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 
 
कार्यक्रममा उनले पुनर्निर्माणका लागि एकीकृत बस्ती मुख्य रहेको र निर्माण कार्यलाई अगाडि बढाउन दोस्रो किस्ता निर्णय गरेर सोमबार नै जिविसमा पठाइसकेको र प्रक्रिया मिलाएर तत्काल वितरण सुरु गरिनेसमेत प्रस्ट पारे । 
 
हेलम्बु राजमार्ग अन्तर्गतको सिन्धुखोलाबाट चार किलोमिटर माथि रहेको गिरानचौरमा विभिन्न जातजातिका मिश्रितवासी रहँदै आएका छन् । 
 
भौगोलिक हिसाबले पनि असहज ग्रामीण भूभागमा पनि बस्ती निर्माण गर्न स्थानीयवासी अग्रसर हुनु देशकै लागि उदाहरणीय रहेको स्थानीय समाजसेवी तथा बस्ती विस्तार योजनाको प्रमुख गणेश तिवारीले बताए । 
 
तामाङ, तिवारी र भट्टराई गरी एकसय ५० परिवारको सक्रियतामा अनुदानको भरमा घर बनाउन थालिएको तिवारीको भनाइ छ ।
 
 ‘आफ्नो घर आफैँ बनाऔँ, विश्वसामु चिनाऔँ’ भन्ने नाराका साथ गिरानचौरका भूकम्पपीडितले आफ्नो घर बनाउन आफैँ लागिपरेका र यसले मेलम्ची नगरपालिका मात्र नभएर सिङ्गो नेपालकै लागि चिनारी बनेको मेलम्ची नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताए । 
 
गिरानचौरमा मात्रै धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा बनेको नमुना बस्तीबाहेक एकसय पाँच तामाङ परिवार अझै पनि भत्केकै घर तथा टहरामा रात कटाउन बाध्य छन् । 
 
सहरी डिभिजन कार्यालयको तथ्याङ्कअनुसार ७८ हजार पाँचसय ३७ लाभग्राही सङ्ख्यामध्ये ७४ हजार नौसय १२ लाई पहिलो किस्ता बाँडेर सकिएको छ । 
 
छुटेको भनेर गुनासो गर्ने मात्र १४ हजार चारसय ४७ रहेका छन् । दोस्रो किस्ताका लागि पाँचसय ४७ ले माग गरेका छन्, जसमा ४७ घरको मात्र प्रमाणित भएर आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ