arrow

संविधान संशोधनमा एमालेले सघाउनु पर्छ : देउवा

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
Deuba-gi-news-aa.jpeg

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले प्रकाशित गरेको पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन् । देउवाले भने , ‘सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।’

पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न एमालेले समेत सहयोग गर्नुपर्ने बताए । संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको सभापति देउवाको भनाइ थियो । देउवाले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको बताए ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ सरकार लागिपरेको बताए । उनले भने, ‘संविधान कार्यान्वयनका लागि संविधान निर्माण गरेका शक्तिहरु एक हुनुपर्छ ।’ मन्त्री केसीले भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १३१ पटक संशोधन भइसकेको उदाहरण दिँदै नेपालको संविधान संशोधन गर्नु हुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे ।

पुस्तकका टिप्पणीकार काँग्रेसका नेता शोभाकर पराजुलीले नेपाली काँग्रेसले पछ्याएको बाटोलाई पुस्तकले समेटेको बताउँदै उक्त पुस्तक नेपाली काँग्रेस पार्टीकै दस्तावेज बन्नसक्ने विश्वास गरे । उनले भने,  ‘काँग्रेसले पार्टीभित्र निष्ठा राख्ने र पार्टीलाई योगदान गरेका व्यक्तिलाई पाखा लगाउने प्रवृत्ति बढेको छ त्यो गलत हो ।’

टिप्पणीकार एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले पुरानो पुस्तादेखि नयाँ पुस्ताका लेखकको विचार समेटेकाले पठनीय रहेको बताए । पार्टीभित्र देखिएको गुटउपगुटको राजनीतिलाई पुस्तकले राम्रोसँग केलाएको उल्लेख गरे ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले काँग्रेसले पटकपटक गरेका आन्दोलन स्थायी हुन नसक्नु काँग्रेसको कमजोरी भएको बताए । समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको स्मृतिमा विशेषाङ्क निकालिसकेको छ । समाजका महासचिव गोकर्ण अर्यालका अनुसार समाजले ४० भन्दा बढी जिल्लामा सङ्गठन विस्तार गरिसकेकोे छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ